केन्ट । धरानका मेयर हर्क साम्पाङ बेलायतमा सहयोग संकलन र भेटघाटको अभियानमा छन् ।
बेलायतको केन्टमा आयोजित दुई च्यारिटी कार्यक्रम, फोल्कस्टोनस्थित लेमन लिफ रेस्टुरेन्टमा १८ अक्टोबर साँझ र ग्रान्ड बर्स्टिन होटेलमा १९ अक्टोबरमा साम्पाङको परिवारलाई सम्मान आयोजना गरिएको थियो । दुई कार्यक्रमबाट यो समाचार तयार पार्दासम्म १ करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ ।
फोल्कस्टोनको ग्रान्ड बर्स्टिन होटलमा धरान समाज युकेद्वारा आयोजित भेटघाट कार्यक्रममा सयौँ धराने र अन्य नेपालीले सहभागिता जनाए । कार्यक्रममा सुम्निमा पारुहाङको प्रतिमा पार्क निर्माण चाँडै सम्पन्न होस् भन्ने शुभकामनासहित आर्थिक सहयोग पनि संकलन गरियो ।
कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, किरात राई यायोक्खा यूकेका अध्यक्ष भुपजित राई, वरिष्ठ उपाध्यक्ष सुमन चन्द्र राई, मगर संघ अध्यक्ष, याक्थुङ चुम्लुङ यूके, फोल्कस्टोन नेपाली समाजका अध्यक्ष, यूकेमा नेपाली मुलकी पहिलो मेयर, मेड्वे काउन्सिलका तर्फबाट क्याबिनेट मेम्बर काउन्सिलर निना गुरुङ, दोश्रो शाही गोर्खा राइफल्स (गोर्खा पल्टन) का गोर्खा मेजर, मेजर डिल्ली कुमार राई MVO, सेनाका अधिकृत र सकल दर्जाका दाजुभाई दिदी बहिनी, गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङ, मिडिया, बीएफबीएस गोर्खा रेडियो यूकेका प्रतिनिधिलगायत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र गन्यमान्य व्यक्तित्वको उपस्थिति थियो।
रात्रिभोजका लागि मेयर साम्पाङलाई बाग पाइपरको संगीतले स्वागत गरिएको थियो । मेयरले आफू पहिलो पटक यस्तो भव्य र औपचारिक कार्यक्रममा सरिक भएको अनुभव बाँड्दै सबैलाई धन्यवाद दिए । मेयरको सम्मानमा धरान समाजका अग्रज अभिभावक पदम बहादुर राई BEM ले कार्यक्रमको सुरुआती सञ्चालन गरेका थिए । बाँकी कार्यक्रम सञ्चालन धरान समाज यूकेका महासचिव डा. महा राईले गरे ।
सांस्कृतिक प्रस्तुति, वृत्तचित्र प्रदर्शन र मेयरको आमाको भिडियो सन्देश प्रसारण गरिएको कार्यक्रममा भावनात्मक क्षण पनि देखियो । मेयरले आफ्ना दाजुलाई सम्मान गर्दै स्टेजमा बोलाएर खादा लगाइदिएर ढोगेपछि बाबुको निधनपछि बाबु समान दाजुको छत्रछायाले सधैँ सहयोग मिलेको बताउँदा उपस्थित व्यक्ति भावुक बनेका थिए।
कार्यक्रमको अन्त्यमा, धरान समाज युकेका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भास्कर राईले भेटघाट तथा च्यारिटी रात्रिभोजमा ४० लाख रुपैयाँभन्दा बढी संकलन भएको जानकारी दिए । त्यसपछि प्रमुख अतिथि मेयर साम्पाङलाई बिदाइ गरिएको थियो।
साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्किनु अघिल्लो दिनसम्म कार्यक्रम तालिका पूर्ण भएकाले पनि यूकेदेखि ठूलो सहयोग संकलन हुने अपेक्षा गरिएको छ ।
-भूमिराज राई
मेडवे केन्ट, युके