पोखरा । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने दोविल्ला–बाधमारा–तिक्लाङ–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे–तल्लो गगनगौँडा सडकअन्तर्गत कालिकास्थान–पुँडीटार–लामेआहाल सडक निर्माण थालिएको छ ।
सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विश्व बैंकका एनईयूजीआईपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले संयुक्त रूपमा शिलान्यास गरे ।
शिलान्यास गर्दै नगरप्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सिर्जना हुन नदिने प्रतिबद्धता जनाए । ‘यो बाटो स्थानीय उपभोक्ताका लागि त हो नै, पोखरा जोड्ने अर्को लाइफ लाइन पनि भएकाले यसको निर्माणका क्रममा आउन सक्ने कुनै पनि प्रकारका स्थानीय अवरोधहरू तत्काल समाधान गरिनेछन्,’ उनले भने ।
सहरी विकास मन्त्रालयका सचिव गेलालले सडक निर्माण कार्य तोकिए कै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सडकको गुणस्तरीय निर्माणमा जोड दिए । विश्व बैंकका टास्क टिम लिडर आवेवाओले समय छोटो समय भएकाले तीव्र गतिमा काम अघि बढाउन अनुरोध गरे । पोखरा महानगर-३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सडक निर्माण कार्यको निरन्तर निगरानी गरी आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता जनाए ।
आशिष निर्माण सेवा भरतपुरसँग सडक निर्माणको जिम्मा लिएको छ । ३९० दिनमा सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ सहयोगमा निर्माण हुने सडकको दुई वटा खण्डमा काम हुनेछ । पहिलो सेक्सनमा वडा नं.३३ को कार्यालयदेखि उपल्लो पुँडीटारसम्म ९.६२७ किमी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखी तल्लो गगनगौँडा (पृथ्वीराज मार्ग) सम्म २.८१३ किमी सडक निर्माण हुनेछ ।
परियोजनाअन्तर्गत करिब १२.४४ किमी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । सात मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २/२ मिटरको फुट ट्र्याक हुनेछ ।
३ अर्ब रुपैयाँ आर्थिक सहायतामध्ये तालचोक-बेगनास सडकको लगानीबाट बचेको रकम परिचालनका सम्बन्धमा विश्व वैंकले परियोजना प्रस्ताव गर्न आग्रह गरेबमोजिम नगरप्रमुख आचार्यले उक्त सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेका थिए । विश्व बैंककै सहयोगमा शिसुवा–शिशाघाट सडकको समेत काम थालिएको छ ।