काठमाडौँ । मनसुन सक्रिय भएसँगै नेपालका अधिकांश स्थानमा भारी वर्षा भएको छ । शुक्रबारदेखि जारी वर्षाले राजधानी काठमाडौँसहित देशभर विपत्ति निम्त्याएको छ । बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ ।
काठमाडौँको नागार्जुन-३ मा रेस्टुरेन्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर भएका मनोज विकको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । शनिबार साँझ रोशी–११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उनकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगर रहेको प्रहरीले जनाएको छ ।
स्याङ्जाकाे बिरूवा गाउँपालिका-६ मा पहिरो जाँदा ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको छ । ७१ वर्षका माधव शर्मा बेपत्ता छन् ।
तनहुँ, दाङ, नवलपरासी पश्चिम सहितका जिल्लामा केही मानिसहरू बेपत्ता भएका छन् । कयौँ ठाउँमा घर, सडक र पुलपुलेसामा क्षति पुगेको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ का विभिन्न स्थानमा करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेका नागरिकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो । बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब १०० घर डुबानमा परेको वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन् । यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको प्रहरीले जनाएको छ ।