लन्डन। पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक बैठक देउकाजी गुरुङको अध्यक्षतामा फार्नबोरोस्थित गोर्खा भवनमा सम्पन्न भएको छ ।
४० जना सदस्यको सहभागिता रहेको बैठक शनिबार बिहान ११ देखि ६ बजेसम्म चलेको थियो । बैठकमा ८ जुनमा हुने समाजको वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने विषयमा छलफल भयो । अध्यक्ष गुरुङले गाउँका चेलीबेटी र भान्जा भान्जीलाई बेलैमा खबर पुर्याएर कार्यक्रममा सहभागी गराउन आह्वान गरे ।
सो अवसरमा वर्षभरमा निधन भएका गाउँलेको नाममा एक मिनेट मौन धारण गरिएको थियो । त्यसपछि कोषाध्यक्ष कृष्ण घलेले संस्थाको आयव्यय प्रस्तुत गरेका थिए । उपाध्यक्ष रवि गुरुङले स्वागत मन्तव्य तथा गाउँका प्रतिनिधिले आ-आफ्नो विचार राखेका थिए।
अध्यक्ष गुरुङ हालै नेपालबाट लामो बिदामा बसेर फर्केकाले गाउँघरमा देखेका, सुनेका कुरा युके समाजलाई सुनाएका थिए । बिशेषगरी कुद्विडाँडा गाउँमा रहेको हर्पनकोट हाइस्कुलको नाजुक अवस्थाबारे फोटो भिडियोसहित जानकारी गराएका थिए ।
उनले युके समाजलाई आर्थिक सहयोगको आव्हान पनि गरे। हर्पनकोट माविका तत्कालीन प्रधानाध्यापक कृष्णबहादुर पोख्रेलले युके समाजलाई पठाएको आर्थिक सहयोगको प्रस्तावना पत्र महासचिव प्रकाश गुरुङले पढेर सुनाएका थिए ।
समाजले सदा झैँ यस पटक पनि प्रयोजकका लागि स्वागत गरेको थियो। आउने भेटघाट कार्यक्रमका लागि सदस्यहरूले २ हजार ४५६ पाउन्ड सहयोग गर्ने बचन दिइसकेको र आउने क्रम जारी रहेको कोषाध्यक्ष कृष्ण घलेको भनाइ छ ।
यस्तै, पुर्खौली घर कुद्विडाँडा भई रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी क्यान्सरपीडित गौप्रसाद गुरुङलाई आर्थिक सहयोग गर्ने निर्णय समाजले गरेको छ।
पीडित गुरुङ हाल पोखरामा भाडामा बसिरहेका छन् । कार्यक्रम प्रकाश गुरुङले सञ्चालन गरेका थिए।