लन्डन । बेलायतमा आउँदो मेको पहिलो हप्ता तीन दिने 'रोचेस्टर स्वीप्स फेस्टिभल युके-२०२४' हुने भएको छ ।
रोचेस्टर क्यासल र युकेकै दोस्रो पुरानो क्याथिड्रलकै सेरोफेरोमा आयोजना हुने महोत्सव नेपाली मूलकी पहिलो महिला मेयर काउन्सिलर मेयर निना गुरुङले समुदघाटन गर्नेछिन् । फेस्टिभल शनिबार ४ मेदेखि सोमबार ६ मेसम्म बिहान १० देखि बेलुकी ६ बजेसम्म हुनेछ ।
लोक सांस्कृतिक महोत्सव, ऐतिहासिक रोचेस्टर सहरमा उत्कृष्ट लोक संगीतकारहरू र ब्यान्डहरूका साथ रङ र ध्वनिको गुञ्जनसँग सम्पन्न हुने आयोजकले जनाएको छ । लोक सांस्कृतिक झाँकीहरु विभिन्न जात र समुदायहरुको आफ्नो संस्कार, संस्कृति झल्काउने खालका हुनेछ ।
प्रवेश नि:शुल्क रहने महोत्सवले हरेक वर्ष ६० हजारभन्दा बढी दर्शकहरु रोचेस्टर सहरको आँगनमा रमाउने अवसर दिँदै आएको छ । यो वर्ष पहिलो पटक नेपालीहरुले पनि आफ्नो संस्कार झल्किने नृत्य र किरात राईहरुको साकेला सिली, ढोल, झ्याम्टा, चौंरीको पुच्छर हल्लाउँदै प्रदर्शन गर्ने तयारL गरिरहेको गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङ राईले जानकारी दिए । अहिले रोचेस्टर स्विप्स फेस्टिभलको प्रस्तुतिका निमित्त साकेला सिली संयोजक चन्द्रावती राईको नेतृत्वमा निवर्तमान अध्यक्ष तथा सल्लाहकार सूर्य राईको प्रशिक्षणमा तयारी भैरहेको र अन्य प्रत्स्तुतिहरु पनि तयारी भइरहेको गोर्खा नेपाली समाज मेडवेका महासचिव हरित पोखरेलले जानकारी दिए ।
किरात राई यायोक्खा युके प्रारम्भिक कार्यसमिति मेडवेका अध्यक्ष भिष्म राईले साकेलाको तयारीको निमित्त हल र सामग्रीहरुको व्यवस्थापन गरेका छन् । रोचेस्टर स्वीप्स फेस्टिभल, लोक संगीत र नृत्यको अन्तर्राष्ट्रिय महोत्सव हो, संसारमा यस प्रकारको सबैभन्दा ठूलो मे दिवस समारोहहरूमध्ये स्विप्स फेस्टिभल एक हो ।
आइतबारको महोत्सवमा मोरिस र अन्तर्राष्ट्रिय लोक नृत्य र संगीत प्रदर्शन हुनेछ । सोही दिन नेपालको तर्फबाट गोर्खा नेपाली समाज मेडवेले आफ्नो प्रस्तुतिहरु देखाउने छ । सोमबारको उत्सव ग्रीन परेडमा ज्याकसँग मे दिवस परम्पराहरू मनाइनेछ ।
महोत्सवमा विभिन्न किसिमका खानाका स्टल, व्यापारिक स्टलदेखि पेय र केटाकेटीहरुका निमित्त विभिन्न खालका खेलकुद र मनोरन्जनको व्यवस्था रहने छ भने रोचेस्टर क्यासलको आँगनमा चर्चित गायक/गायिका र ब्याण्डहरुले निरन्तर आफ्नो प्रस्तुति दिनेछन् ।
नेपाली गीतमा नृत्य, गोर्खालीहरुको बारेमा जानकारी, खुकुरी डान्ससहित किरात राईहरुको साकेला सिली प्रस्तुत गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको छ ।