लन्डन । बेलायतको अल्डरसट विलिङटन वार्डको काउन्सिलर पदमा कन्जरभेटिभ पार्टीबाट डा. विशाल गुरुङले उम्मेदवारी दिएका छन् ।
डा. गुरुङ अल्डरसट हस्पिटल हिल विलेस्ली, आर्मी क्याम्प र टाउन सेन्टर क्षेत्रका स्थानीयलाई प्रतिनिधित्व गर्न काउन्सिलरमा उठेका हुन् ।
अल्डरसटमा विगत सात वर्षदेखि बस्दै आएका उनी गत असारयता अल्डरसट र ह्यामसायर क्षेत्रमा कन्जरभेटिभ पार्टीको डेपुटी चेयरमेन छन् ।
धेरैभन्दा धेरै नेपालीहरूको आवाजलाई काउन्सिलमा पुर्याउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । ‘जति धेरै नेपालीको आवाज काउन्सिलमा पुर्याउन सकिन्छ, त्यति नै नेपालीका लागि प्रभावकारी काम गर्न सकिन्छ भन्ने आशा बोकेर उम्मेदवारी दिएको हो,’ उनले गोर्खा मिडियासँग भने, ‘नेपालीका आफ्नै चुनौती छन् ती चुनौतीसँग लड्नका लागि नेपालीहरू काउन्सिलमा धेरैभन्दा धेरै हुन जरुरी छ ।’ नेपालीका विभिन्न समस्यालाई काउन्सिलमा लगेर समाधानका लागि पहल गर्ने उनको योजना छ ।
युवाहरूको लागि लेजर सेन्टर, स्पोर्टस् सेन्टर तथा बालबालिकाका लागि खेल्ने ठाउँका लागि पनि कुरा राख्ने पनि डा. गुरुङले प्रतिबद्धता जनाएका छन् । यसैगरी टाउन सेन्टरमा निर्माण भइरहेको युनियन यार्डलाइ चाँडो सम्पन्न गर्न पहल गर्नेसमेत उनले बताए ।
काउन्सिलरका लागि आगामी मे २ मा निर्वाचन हुँदैछ। डा. गुरुङ लामो समयदेखि बेलायतस्थित विभिन्न संघसंस्थामा आबद्ध भएर समाजसेवामा सक्रिय छन् ।
हाल उनी, ग्रेटर रसमूर नेप्लिज कम्यनिटी यकेका उपाध्यक्ष तथा तमु धीं युकेका महासचिवसमेत छन् ।