लन्डन । लन्डनमा यस वर्ष पनि बुद्धजयन्ती धूमधामका साथ मनाइने भएको छ ।
बुद्ध फाउन्डेसन युकेले आगामी जुन २ मा वुल्लीच आर्सनलको गोडर्न स्क्वायरमा बुद्धजयन्ती मनाउने निर्णय गरेको हो । यसअघि बुद्ध जयन्तीको कार्यक्रम लन्डनको ट्राफल्गर स्क्वायरमा हुने गरेको थियो ।
उक्त स्थान मर्मतसम्भार भइरहेकाले वुल्लीचमा गर्ने निर्णय भएको आयोजकले बताएका छन् । कार्यक्रम दिउँसो दुईदेखि साँझ सात बजेसम्म हुने तय छ ।
फाउन्डेसनले आइतबार कार्यसमिति र सल्लाहकारहरूको संयुक्त बैठक गरेर कार्यक्रम तयारीका लागि विभिन्न छलफल तथा निर्णय गरेको छ ।
कार्यक्रम तयारीका सम्बन्धमा यसै साता लन्डन दूतावाससँग छलफल हुने बुद्धजयन्ती कार्यक्रम संयोजकसमेत रहेकी उपाध्यक्ष प्रसुना कँडेलले जनाइन् । अप्रिल २१ मा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसँग भर्चुअल छलफल गरिनेछ । यहाँस्थित प्रमुख नेपाली संघसंस्थासँगको सहकार्यमा बुद्धजयन्तीको कार्यक्रममा हुने गरेको छ ।
यसैबीच, कार्यक्रमस्थलमा बुद्ध र बौद्ध दर्शनसम्बन्धी पुस्तकको जानकारीमूलक स्टल राखिने भएको छ । जसका लागि स्वेच्छिक रूपमा सहयोग गर्न तथा सान्दर्भिक पुस्तक उपलब्ध गराउन फाउन्डेसनले आव्हानसमेत गरेको छ ।
यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक उपाध्यक्ष प्रसुना कंडेल तथा सहसंयोजक ह्यारी गुरुङ र सुर्जे गुरुङ छन् । यसंगरी, सांस्कृतिक संयोजकमा दिलु थापा र आर्थिक संयोजकमा राजन खकुराल रहेका छन् ।
सन् २०१७ मा स्थापना भएको फाउन्डेसनले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, एनआरएनएलगायतको सहकार्यमा ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती कार्यक्रम गर्ने गरेको थियो ।
बुद्धजयन्ती कार्यक्रमलाई सफल पार्न बेलायतवासी नेपाली र संघसंस्थाको सक्रिय सहभागिताका लागि फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले अनुरोध गरेका छन् ।