लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले धुमधामका साथ 'नयाँ वर्ष २०८१' मनाएको छ ।
शुक्रबार १२ अप्रिलमा अल्डरसटस्थित एम्पायर हलमा जीआरएनसीका अध्यक्ष मान गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा नयाँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम प्रमुख अतिथि राजदूत आचार्य, रसमुर बरो काउन्सिलका मेयर काउन्सिलर क्लिभ ग्राटन, काउन्सिल लिडर काउन्सिलर गारेथ लियोन र अध्यक्ष मान गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र गुरूङले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए ।
यस्तै लामा गुरुङ र पण्डित आचार्य मधुसुदन सत्यालले स्वस्ती वाचन गरेका थिए । महासचिव हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराउँदै कार्यक्रम आगडि बढाएकी थिइन् ।
उपाध्यक्ष डा विशाल गुरुङले स्वागत मन्तव्य दिएको कार्यक्रममा प्रमुख अतिथि, अतिथिले मन्तव्य राख्नुका सांसद तथा मिनिस्ट्री अफ स्टेट फर द आर्म फर्सेसका लियो डचेर्टीले भिडियो सन्देश सुनाइएको थियो ।
प्रमुख अतिथि र अध्यक्ष गुरुङद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने 'चिनारी' पुस्तक विमोचन गरेका थिए ।
औपचारिक कार्यक्रमको अन्तमा अध्यक्ष मान गुरुङले प्रमुख अतिथि, अतिथि, जीआरएनसीका सदस्य, प्रायोजक, दातासहित विभिन्न क्षेत्रबाट नेपाली नयाँ वर्ष कार्यक्रमलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिएका थिए । बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोग र सहभागिताबिना कार्यक्रम सम्भव नभएको भन्दै अध्यक्ष गुरुङ आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखेका थिए ।
औपचारिक कार्यक्रमपश्चात् सांगीतिक माहोल सुरु भएको थियो । जसमा नेपालबाट आएका चर्चित कलाकारहरु मनमाया वाइबा, उषा गुरुङ, प्रेम विवश घर्तीमगरले आफ्ना बेजोड प्रस्तुति राख्दा सहभागीहरु स्टेज र मञ्ज अगाडि छमछमी नाचेका थिए ।
यस्तै कार्यक्रममा बालगीत, नृत्य, डीएमटी ब्यान्डको प्रस्तुति, सयपत्री कल्चरल ग्रुपको नृत्यजस्ता प्रस्तुति समेटिएको थियो । कार्यक्रममा नेपालीसँगै विदेशीहरुसमेत नाचेका थिए ।
जीआरएनसीले सन् २००३ देखि लगातार नेपाली नयाँ मनाउँदै आएको छ ।