लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीले नयाँ वर्ष २०८१ मनाएको छ ।
प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि इरिथ एण्ड थेम्समिडबाट प्रतिनिधित्व गर्ने बेलायती सांसद एवम् छाया मन्त्री अबेना ओपङ-असारेले नेपाली नयाँ वर्षको शुभकामना दिँदै स्थानीय समुदायमा नेपालीहरुको भूमिका प्रशंसालायक रहेको बताइन् । उनले नेपाली समुदायसँगको सहकार्यका लागि आफू सधैं तत्पर रहेको जनाउँदै आफ्नो स्थानबाट कुनै सहयोग आवश्यक परेमा सम्पर्क गर्न आह्वान पनि गरिन् ।
विशिष्ट अतिथि राष्ट्रियसभा सांसद विष्णु सापकोटाले बेलायतमा पनि नेपाली कला, संस्कृति र नेपालीपन जोगाएर राखेको भन्दै आरजीएनएसलाई धन्यवाद ज्ञापन गरिन् । सोसाइटीका संरक्षक समेत रहेका रोयल बरो अफ ग्रीनवीचका डेपुटी मेयर जीत रानाभाटले नेपाली नयाँ वर्ष कार्यक्रममा देखिएको विविधताभित्रको एकता गौरवको विषय भएको बताए ।
आरजीएनएस अध्यक्ष पुण्य रेग्मीले कार्यक्रम सफल पार्न योगदान गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद दिए । कार्यक्रमको दोस्रो सत्रमा राष्ट्रिय कलाकारहरु भूमिका गिरी र यज्ञ विकले सांगीतिक प्रस्तुति गरेका थिए । पासा पुचः गुथिका तर्फबाट ससाना बालिकाले मौलिक कुमारी नाच प्रस्तुत गरेका थिए ।
अध्यक्ष पुण्य रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव ह्यारी गुरुङले गरेका थिए । उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रम संयोजक उपाध्यक्षद्वय मञ्जु भण्डारी र सुरोज मास्के थिए । कार्यक्रमका लागि कोष संकलनको संयोजन सल्लाहकार राजन खकुरालले गरेका थिए ।
सो अवसरमा स्थानीय ग्रीनवीच बरोको काउन्सिल डेपुटी लिडर एभरिल लेकाउ र काउन्सिलरहरुका साथै साउथ इष्ट लन्डनका ग्रीनवीच, बेक्सली, डाटफोर्डदेखि लन्डनसम्मबाट उल्लेख्य संख्यामा संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा र दर्शक उपस्थित थिए ।