लन्डन । किरात राई यायोक्खा बेलायतले विशेष कार्यक्रमसहित २०औँ स्थापना दिवस मनाएको छ ।
शनिबार किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा संस्थाका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रखुख अतिथि जगत राई प्रमुख अतिथि तथा द भ्वाइस अफ नेपाल- ५ का विजेता गायक विनोद राई विशेष अतिथि रहेका थिए ।
संस्थाका उपाध्यक्ष रि. मेजर दिलकुमार राईले आपत्कालीन अवस्थाको जनस्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी गराए । दीप प्रज्वलनका साथ उद्घाटन गरिएको औपचारिक कार्यक्रममा स्मृति राईले संस्थाको २० वर्षे संक्षिप्त इतिहास प्रस्तुत गरेकी थिइन् ।
उपाध्यक्ष अनिता राईले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संयोजकसमेत रहेकी उनले किरात राई यायोक्खा बेलायतको वर्तमान अवस्थाबारे जानकारी गराइन् । उपस्थित संस्थापकलाई संस्थाको निरन्तरता अनि उद्देश्य प्राप्तिमा उभिनेलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।
यस्तै, सो अवसरमा गायक राईलाई स्वागत र सम्मान गरिएको थियो । उनलाई सभाध्यक्ष र प्रमुख अतिथिले फेटा गुथाएर तथा सम्मानपत्र प्रदान गरे भने उपस्थित सबैले खादा लगाइदिएर सम्मान गरे ।
शुभकामना मन्तव्य राख्दै संस्थाका पूर्वअध्यक्ष तथा हालका प्रमुख सल्लाहकार पदम राई बिईएमले आफू संस्थाको शैशबकालदेखि नै विभिन्न भूमिकामा सक्रिय रहँदै आएको उल्लेख गरे । संस्थाको उन्नत कालखण्डमा नेतृत्व हस्तान्तरण गरेको स्मरण गर्दै उनले संस्थाको वर्तमान अवस्थाप्रति खिन्नतासमेत प्रकट गरेका थिए ।
संस्थापकको तर्फबाट नेपालधन राईले आफ्नो भनाइ राखेका थिए । सम्मानित गायक राईले किराया बेलायतले आफूलाई जिताउन अभियान नै सञ्चालन गरेर गरेको र स्थापना दिवसको दिन विशेष सम्मान गरेर अझ हौसला प्रदान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे ।
कार्यक्रमका किराया बेलायत स्थानीय समन्वय परिषद् ग्रेटर रस्मोरको अध्यक्ष ध्रुवसरी राई, संस्थापकहरू रामधन राई, गजेन्द्र राई, डम्बर राई र हिराधन राई पनि अतिथिको रूपमा उपस्थित थिए ।
अन्त्यमा, अध्यक्ष राईले गायक राईलाई बधाई दिँदै स्थापना दिवस सफल पार्न लागि पर्ने पदाधिकारी तथा सदस्य सबैलाई धन्यवाद दिए ।
औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका उपमहासचिव प्रमीला लाबुङ राईले गरेकी थिइन् ।