लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले बेलायत भ्रमणमा रहेकी युवा चित्रकार सुजना थापा श्रीसलाई बिदाइ गरेको छ ।
फानबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा बुधबार २७ मार्चमा एक समारोहबीच चित्रकार श्रीसलाई जीआरएनसी युकेका अध्यक्ष मान गुरुङलगायत पदाधिकारी, कार्यसमिति र शुभचिन्तकले बिदाइ गरेका हुन् ।
यस्तै शिव मन्दिरका नयाँ पण्डित मधुसूदन सत्याल आचार्यलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष उत्तर गुरुङ, सुष्मा गुरुङ, जीत मेन्याङ्बो, कोषाध्यक्ष श्याम श्रेष्ठ, कार्यसमिति सदस्य गोमा राना र रेस्टुरेन्ट व्यवसायी तथा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङलगायत सहभागी थिए ।
श्रीस गैर आवासीय नेपाली संघ एनआरएनए युके (प्रेम गाहामगर समूह) को निमन्त्रणमा गत फेब्रुअरी २२ तारिखमा बेलायत आएकी हन् ।
क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजनाले एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा आयोजना गरेको अन्तर्राष्ट्रिय नारी दिवसलगायत कार्यक्रमलगायतमा सहभागी भइन् । सुजना डकुमेन्ट्री मेकर, चित्रकार र पत्रकार पनि हुन् । उनले गत नोभेम्बरमा नेपाल आर्ट काउन्सिलमा गोर्खाका श्रीमतीहरुको कथा झल्काउने चित्रकला प्रदर्शनी ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ सफलतापूर्वक गरेकी थिइन् ।
पोट्रेटस, अडियो-भिज्यूअल सामग्री, कलाकृतिहरु आदि समावेश भएको उक्त प्रदर्शनीले धेरै दर्शकको ध्यान खिचेको थियो । उनले सन् २०१८ मा ‘भार्सेली गोर्खा: फ्रम स्टोरिज टु पोट्रेटस’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेमा एकल चित्रकला प्रदर्शनी पनि गरेकी थिइन् । उनको सामूहिक चित्रकला प्रदर्शनी ‘ब्ल्याक एण्ड ह्वाइट’ भने सन् २०१५ मा काष्ठमण्डप आर्ट स्टुडियोमा भएको थियो । ‘गाउँ आएको बाटो’ (अ रोड टु अ भिलेज) फिचर फिल्ममा पनि उनले आर्ट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन् ।