लन्डन । सन् २०२१ अगस्टमा भूतपूर्व गोर्खाहरूको भोक हडताल अन्त्य गराएका युरोप हेर्ने मन्त्री लियो डोकर्टी आर्मड् फोर्सेस मन्त्री बनेका छन् ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई आफ्नो मन्त्रिपरिषद् हेरफेर गर्न बाध्य पार्दै दुई मन्त्रीले मंगलबार राजीनामा दिएपछि एउटा पदमा अल्डरसट क्षेत्रका सांसद तथा पूर्व सैनिक लियोले आर्मड् फोर्सेस मन्त्री बन्ने अवसर पाएका हुन् । यस्तै, ल्यूक हल शिक्षामन्त्री बनेका छन् ।
लियो झण्डै अढाइ वर्षअघि गोर्खाहरूको आमरण अनसन तोड्ने मन्त्री पनि हुन् जुनबेला उनी ‘भेट्रान मिनिस्टर’ थिए । त्यही बेला बेलायतले गोर्खा मुद्दा सम्बोधनका लागि वार्ता गर्ने प्रतिबद्धता गरेपछि भोक हडताल अन्त्य भएको थियो । मन्त्री लियोले जुस ख्वाएर ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणाको १३ दिने अनसन समापन गरेका थिए ।
सोही बेला मन्त्री लियोले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई एक समझदारीपत्र हस्तान्तरण गरेका थिए जसमा वार्ताद्वारा भूतपूर्व गोर्खाको समस्या समाधान गर्ने प्रतिबद्धता थियो ।
त्रिपक्षीय वार्ताको एक दिनअघि लियो बेलायती रक्षा मन्त्रालय (एमओडी)अन्तर्गत आर्मड् फोर्सेस मन्त्री बनेका हुन् ।
जेम्स् हेप्पीले उक्त पद छोड्ने आफ्नो अघिल्लो वाचा पुरा गरेसँगै लियो उक्त जिम्मेवारीमा आएका हुन् । विदेश राज्यमन्त्री भइसकेका लियो सन् २०१७ जुन देखि नेपालीहरू उल्लेख्य रहेको अल्डरसटबाट सांसद छन् । उनी नेपाली समुदायसँग निकट छन् ।
सन् २०१५ देखि सोमरसेटस्थित वेल्सको प्रतिनिधित्व गरेका हेप्पीले यस महिनाको सुरुमा सांसद र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
रोबर्ट हाफनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । हाफन सन् २०१० देखि हार्लोको टोरी सांसद छन्।
दुवैजना यसै वर्ष हुने भनिएको आम निर्वाचनमा पुनः नउठ्ने भएका छन् । आउँदो चुनावमा नउठ्ने घोषणा गरेका ९८ सांसदमध्ये अधिकांश कन्जरभेटिभ पार्टीबाट छन् ।
पूर्वप्रधानमन्त्री टेरेसा मे, डोमिनिक राब जस्ता दिग्गजदेखि संसद्मा नयाँ मानिएका डेहेना डेभिसन र निकोला रिचर्ड्सले पनि अब हुने चुनावमा भाग नलिने बताइसकेका छन् ।