काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतवासी समाजसेवी कविता गुरुङले दुई मिर्गौलापीडितलाई आर्थिक सहयोग गरेकी छन् ।
दुवै मिर्गौला फेल भएको रामेछापका २४ वर्षीय अर्बिन (गणेशकुमार) खड्कालाई मंगलबार १५ हजार र नुवाकोट तादी गाउँपालिका ३ की ४८ वर्षीया साइँली तामाङलाई बुधबार १५ हजार १० रुपैयाँ सहयोग गरेकी हुन् । साइँलीलाई सहयोग हस्तान्तरण कार्यक्रममा कविताका छोरा प्रयास गुरूङ र पत्रकार टिकाराम तामाङ तथा बिरामीका आफन्त उपस्थित थिए ।
अर्बिनको केही दिनअघि भक्तपुरको राष्ट्रिय धर्मभक्त क्यान्सर अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । उनलाई बहिनी सिर्जना खड्काले मिर्गौला दान गरेकी हुन् । सिर्जनालाई पनि कविताले ५ हजार रुपैयाँ सहयोग दिएकी छन् । कविताले ती सबै सहयोग आफ्नै कमाइबाट दिएको बताएकी छन्
अर्बिनको मिर्गौला प्रत्यारोपणका लागि गिभिना हेल्पिङ्ग ह्याण्ड्स फाउन्डेशन परिवारले अभियान चलाएर ७ लाख रुपैयाँ सहयोग संकलन गरेको थियो । अभियानकी कोषाध्यक्ष अनु लामाले अर्बिनको मिर्गौलन प्रत्यारोपण गराई नयाँ जीवन दिन सफल भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण सहयोगी मनहरुलाई संस्थाको तर्फबाट धन्यवाद दिएकी छन् । अर्बिनको मिर्गौला प्रत्यारोपण भइसके पनि नियमित उपचारका लागि थप खर्च आवश्यक रहेकोले इच्छुक व्यक्तिहरुले सहयोग गर्न सक्ने फाउन्डेशनले जनाएको छ ।
यसैगरी झन्डै पाँच वर्षअघि दुवै मिर्गौला ड्यामेज भएकी ४८ वर्षीया साइँली काठमाडौंको वीर अस्पतालमा हप्तामा सोमबार र बिहीबार नियमित डायलसिस गर्दै आइरहेकी छन् । आर्थिक अवस्था निकै कमजोर भएकी साइँलीको मिर्गौला फेर्ने तयारी गरिए पनि दाता नपाएपछि रोकिएको छ । छोराछोरी नभएकी साइँली श्रीमानले ज्यामी काम गरेर कमाएको खर्चबाट मनमैंजुमा बसेर उपचार गरिरहेेकी छन् ।
सहयोग प्राप्त भइसकेपछि मिर्गौला पीडित खड्का, तामाङ लगायतले समाजसेवी कविता गुरुङ र अन्य दाताहरुलाई धन्यवाद दिएका छन् ।
यसअघि समाजसेवी कविताले मुस्ताङमा खेन्पो किरण तुलाचनले सञ्चालन गरेको श्री नालन्द बुद्धिस्ट स्कुलका विद्यार्थीका लागि ५० हजार रुपैयाँ सहयोग गरेकी थिइन् । उक्त विद्यालयमा नि:शुल्क शिक्षा, दीक्षासहित २ सय ५० जना विद्यार्थी छन् ।
यही भ्रमणको सिलसिलामा कास्कीको आफ्नै गाउँ लुम्ले ७ मा श्रीमान् स्व. गमबहादुर गुरुङको स्मृतिमा चौतारा निर्माण गरिदिएकी छन् । १ लाख ५० हजार रुपैयाँ खर्च लागेको उनले बताइन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम अभियानमा पनि उनले २५ हजार रूपैयाँ सहयोग गरेकी छन् ।
कास्कीको धम्पुसमा जन्मिएकी कविता तीन दशकदेखि सामाजिक काममा निरन्तर रहेकी छन् । उनले नेपालमा भूकम्प, कोरोनापीडित, अन्य बिरामी, शैक्षिक क्षेत्रलगायतमा पनि व्यक्तिगत र इस्टमित्रबाट रकम संकलन गरेर सहयोग गर्दै आएकी छन् ।
बेलायतको मोर्डन साउथ लन्डनमा बस्दै आएकी कविता तीन महिनाको नेपाल बसाइपछि बिहीबार पुन: कर्मभूमि फर्किने कार्यक्रम छ ।