लन्डन । तमु समाज युकेको सामुदायिक भवन परियोजना सहयोगार्थ 'परोपकारी रात्रिभोज'मा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र श्रीमती जयन्तीदेवी गुरुङ परिवारबाट झन्डै ९ लाख रुपैयाँ आर्थिक सहयोग भएको छ ।
लन्डनमा रहेको ओकिङ्टन मनोर बैंक्वेटिङ हल, ओकिङ्टन मनोर ड्राइभ वेम्बलीमा शनिबार २३ मार्च २०२४ मा आयोजित च्यारिटी डिनर नाइटमा वर्तमान सल्लाहकारसमेत रहेका संस्थापक अध्यक्ष गुरुङले ५ हजार ३१५ पाउन्ड (नेरू करिब ८ लाख ९६ हजार) सहयोग गरेका हुन् । त्यसमध्येमा बुहारी ममता गुरुङले ३५ सय पाउन्ड दान गरेकी हुन् । च्यारिटी डिनर नाइटमा सबैभन्दा धेरै सहयोग गर्ने संस्थापक अध्यक्ष गुरुङको परिवार बनेको छ ।
संस्थापक अध्यक्ष चित्रबहादुर र श्रीमती जयन्ती देवीलाई तमु समाज युकेको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली राजदूतावास लन्डनका राजदूत ज्ञानचन्द्र आचार्यले ताम्रपत्र हस्तान्तरण गर्दै बधाई र शुभकामना दिए ।
तमु समाज युकेको सामुदायिक भवन परियोजनाका लागि धेरै आर्थिक सहयोग दिएकोमा आफू र श्रीमती जयन्तीदेवीलाई सम्मान गरेको भन्दै संस्थापक अध्यक्ष गुरुङले अध्यक्ष शिवकुमार गुरुङसहित सबैमा आभार तथा धन्यवाद व्यक्त गरेका छन् । उनले सोमबार फेसबुमा लेखेका छन्- 'तमु समाज युकेको सामुदायिक भवन परियोजनाका लागि धेरै आर्थिक सहयोग दिएकोमा म, मेरो श्रीमती जयन्तीदेवी गुरुङलाई महामहिम राजदूत श्री ज्ञानचन्द्र आचार्यज्यूको हातबाट ताम्रपत्रले सम्मानका साथ बधाई र शुभकामना दिनु भएकोमा आदरणीय तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङज्यू, पूर्वअध्यक्षज्यू, सल्लाहकारज्यूहरू, सम्पूर्ण कार्यसमिति, आमा समूहका अध्यक्षज्यू, आमा समूहका पूर्व तथा निवर्तमान अध्यक्षज्यूहरु, युवा समूहका अध्यक्षज्यू र सम्पूर्ण तमु समाज युकेका आजीवन सदस्यज्यूहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।'
२०१३ सालमा स्याङ्जाको पञ्चमूल (साबिकको आँधीखोला गाविस) मा सिरुबारी कुर्लेमा पिता दिवंगत लेफ्टिनेन्ट भीमबहादुर गुरुङ र आमा टुलकीको कोखबाट जन्मिएका चित्रबहादुर पूर्व ब्रिटिस गोर्खा सैनिक हुन् । बेलायतवासी गुरुङ नेपालीको दु:खकष्टमा होस् वा नेपालमा प्राकृतिक प्रकोप र अन्य समस्यापीडित नागरिकका मद्दतमा किन नहोस् निरन्तर दिल खोलेर सहयोग गर्दै आएका छन् ।