लन्डन – अन्तरक्रिया र सांगीतिक कार्यक्रमसहित द गोर्खा सेन्टरले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
हेजस्थित क्लेरेसियन ओएसिस सम्मेलन केन्द्रमा ‘प्रवासमा नेपाली महिलाका चुनौती तथा अवसरहरू’ विषयमा अन्तरक्रिया भएको थियो । पत्रकार भगीरथ योगीले सहजीकरण गरेको अन्तरक्रियाका सहभागीले बेलायतमा रहेका आप्रवासी नेपाली महिला र नयाँ पुस्तालाई मेहनतका साथ नयाँ अवसर पछ्याउँदै अगाडी बढ्न सुझाव दिएका छन् ।
माया सपोर्टेड लिभिङ लिमिटेडकी निर्देशक डा. रक्षा थापाले कडा मेहनत नै सफलताको सूत्र भएको बताइन्। गैर आवासीय नेपाली संघको युरोप क्षेत्र महिला संयोजक प्रसुना कँडेलले नेपाल बाहिर प्रवासमा संघर्ष गर्दै नेपाली महिलाले गरेको प्रगति प्रशंसनीय भएको बताइन्।
ब्रिटिस प्रहरीमा कार्यरत नेपाली मूलकी पहिलो महिला प्रहरी पुष्पा सुनुवारले अनुशासन रुचाउने र समुदायको सेवा गर्न चाहने जो कोही पनि ब्रिटिस प्रहरीमा जान सक्ने बताइन्। बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायमा पनि घरेलु हिंसाको समस्या देखेको भन्दै कुनै पनि किसिमको हिंसाको जानकारी पाउनासाथ प्रहरीलाई खबर गर्न आग्रह गरिन्।
बेलायतमै जन्मिएकी सुप्रिना थापाले प्रवासमा हुर्की रहेको पुस्ताले पहिचानको समस्या बेहोरिरहेको बताइन् ।
कार्यक्रमको दोस्रो चरणमा चर्चित भारतीय गायक आर्को मुखर्जीले प्रस्तुति दिएका थिए । उनले लोकप्रिय नेपाली लोक गीत सुनाएर दर्शकलाई नचाए । गायक मुखर्जीले ‘अल्लारे नानी केसी’, ‘मेरी आमा रुँदी हुन् मलाई सम्झेर’लगायत गीत सुनाएका थिए । उनलाई कनिष्का सरकार तथा सान्द्रा बीबीले साथ दिएका थिए।
चर्चित शेफ विनोद बरालको टोलीले मौलिक नेपाली खाना प्रस्तुत गरेका थिए । खर्च कटाएर बचेको रकम बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको सहयोगका लागि खर्च गरिने द गोर्खा सेन्टरका सीईओ भीम तामाङले बताए।
सेन्टरकी ट्रष्टी सेक्रेटरी चाँदनी पटेलले सबैलाई स्वागत गरेकी थिइन्। द गोर्खा सेन्टरले बेलायतमा उच्च शिक्षाका लागि आएका नेपाली विद्यार्थीलाई सघाउन सहायता कक्ष पनि स्थापना गरेको छ।
सेन्टरले विद्यार्थीलगायत नेपाली तथा भूतपूर्व गोर्खा समुदायका मानिसलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श पनि दिँदै आएको छ।