लन्डन । तमु समाज युकेका संस्थापक अध्यक्ष तथा गोर्खा मिडियाका सल्लाहकार चित्रबहादुरले छोरा स्व दमन गुरुङको दुई वर्षको पुण्य स्मृतिमा त्रिपिटक पाठ वाचनमा भोजन दान गरेका छन् ।
पुरानो ठेगाना स्याङ्जा जिल्ला,आधींखोला गाँउपालिका-१ सिरूबारी हाल निवासी चित्रबहादुर गुरुङ र जयन्ती गुरुङको तर्फबाट कांग्युर (त्रिपिटक) पाठ वाचन महापूजा अनुष्ठानमा २५ हजार रूपैयाँ प्रदान गरी भोजन दान गरेको आयोजक गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रले जनाएको छ । समाजसेवी तथा पूर्व ब्रिटिस गोर्खा चित्रबहादुर गुरुङ परिवारले नेपालमा प्राकृतिक विपत्तिपीडित, शैक्षक क्षेत्र, विभिन्न रोगका बिरामी, सामाजिक कामहरुका लागि निरन्तर सहयोग गर्दै आएका छन् ।
केन्द्रको आयोजनामा चार भन्ज्याङ तमु समाज बुढानीलकण्ठमा मंगलबारदेखि विश्वशान्ति काग्युर (त्रिपिटक) पाठ वाचन महापूजा अनुष्ठान सुरु भएको छ । उक्त कार्यक्रमका लागि बेलायत लगायत देशबाट सहयोग आउने क्रम जारी रहेको आयोजकले जनाएको छ ।
गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रका अध्यक्ष खेन्पो शीर लामा गुरुङले भगवान् बुद्धले प्रतिपादन गरेको अहिंसा परम धर्मको शिक्षालाई मानव समाजमा विस्तार गर्दै लैजान उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बौद्ध गुरुहरु, श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेका छन् । चैत ७ गते बुधबारदेखि ११ गते आइतबारसम्म प्रत्येक दिन बिहान ७:३० बजेदेखि बेलुकी ५:३० बजेसम्म कांग्युर तथा विविध पूजा वाचन हुनेछ । भोजन ग्रहण बिहान साढे ११ बजे, धर्म देशनासँगै सम्मान कार्यक्रम प्रत्येक दिन अपराह्न १ बजेदेखि ३ बजेसम्म, ग्रहशान्ति पूजा अपराह्न ३:३० बजेदेखि धर्मपाल (महाकाल) सोल्खा पूजा, पितृपूजा साँझ ४:३० बजे दिप प्रज्वलन, सुर चढाउने र मोलम वाचन हुने अध्यक्ष गुरुङले जानकारी गराए ।
कार्यक्रम समापन चैत १२ गते सोमबार शुक्ल पूर्णिमा तिथिको दिन हुनेछ । त्यसदिन बिहान ७:३० बजेदेखि गणचक्र पूजा, अपराह्न १ बजेदेखि रिन्पोछे गुरुबाट प्रवचन तथा दीर्घायु अभिषेक (वाङ्) प्रदान गरिने छ । महापूजा अनुष्ठानमा सहभागी भई पुण्यलाभको लागि अध्यक्ष खेन्पो गुरुङले सबैलाई अनुरोध गरेका छन् ।
कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुकले भोजन दानबापत २५ हजार, चियानास्ता/खाजा दान १५ हजार, चिया मात्र २ हजार ५ सय, पानी तथा फलफूल दान र कांग्युर वाचन संस्थापक जिन्दाग ग्रहणबापत ५० हजार रुपैयाँ सहयोग गर्न सकिने आयोजकले जनाएको छ ।
बुद्ध वचनको अनुशरण गरौं, जीवन सार्थक बनाऔं सन्देशसहित गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र वि सं २०७० सालमा स्थापना भएको हो ।