लन्डन । नेपाली दूतावास लन्डनको घुम्ती टोलीले सुइन्डनमा पुगेर राहदानी नवीकरण सेवा प्रदान गरेको छ ।
सुइन्डनस्थित द काउ ब्यांक्वेटिङ हलमा शनिबार राहदानी नवीकरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यले नेपाली समाज विल्टसायरको अनुरोधमा कार्यक्रम आयोजना गरिएको दूतावासका द्वितीय सचिव रामबाबु नेपालले बताए ।
टोलीमा राजदूतावासका द्वितीय सचिव नेपालसँगै कार्यालय सचिव धनबहादुर बोहरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी थिए ।
सो घुम्ती टोलीबाट सुन्डनमा बसोबास गर्ने करिब २२० जना नेपालीले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताए । उनका अनुसार ९६ वर्षिया वृद्धालेसमेत राहदानी नवीकरण गरेर सेवा लिएकी थिइन्।
राहदानी नवीकरणका लागि दूतावास जान एक दिन लाग्ने, झन्झटिलो र खर्चिलोसमेत हुने गरेको थियो । आफ्नै ठाउँमा राहदानी नवीकरण गर्ने प्रबन्ध गरेकोमा त्यहाँका एमपी रोबर्ट बकल्यान्डले नेपाली समाज विल्टसायरका अध्यक्षलगायत पदाधिकारीलाई धन्यवाद दिएका थिए । यस्तै, सेवा लिएका नेपाली समुदायले पनि समाज र दूतावासका कर्मचारीप्रति धन्यवाद व्यक्त गरे ।
गोर्खाहरूको बाक्लो बस्ती रहेको सुइन्डनमा यसअघि पनि दूतावासले यस्ता सुविधा दिँदै आएको छ । यहाँ भर्खरै मात्र सुरु गरेको द काउ ब्यांक्वेटिङ हल सुइन्डन टाउन सेन्टरमा छ । करिब ७०० मानिस अटाउने क्षमता भएको हलमा ज्येष्ठ नागरिक पनि सजिलै पुग्न सक्ने भएकाले कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले बताए ।
नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारी र दूतावासका कर्मचारीका लागि खाजाको प्रबन्ध द काउका सञ्चालकले निःशुल्क रूपमा गरेको सञ्चालक ह्यानसन गौचनले बताए ।