लन्डन । युनाइटेड हेम्पशायर सर्रे बर्कशायर मगर संघ (यूएचएसबी) युकेको आयोजनामा लेडिज रमझम च्यारिटी नाइट सम्पन्न भएको छ ।
शनिबार सम्पन्न च्यारिटी नाइटको उद्घाटन संस्थाका अध्यक्ष धना रोका, हेड अप लेडी गोमा राना, पूर्वअध्यक्ष छविमाया पुन, निवर्तमान अध्यक्ष भीमा धेगा, सल्लाहकार शान्ति कुँवर, नरमती पुन र जमुना पुन गर्बुजाले दीप प्रज्वलन गरेर गरेका थिए।
कार्यक्रममा सुनिता थापाले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएकी थिइन्। उनले नै सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष आशा थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।
त्यसपछि कार्यक्रममा उपस्थित सबै राष्ट्रिय गानमा सहभागी भएका थिए । हेड अफ लेडी गोमा रानाले संस्था स्थापनादेखि हालसम्म गरेका गतिविधिबारे जानकारी गराइन् ।
संस्थाले हरेक वर्ष लेडिज च्यारिटी नाइट गर्दै आएको छ । जसबाट संकलित रकमबाट युके तथा नेपालका विभिन्न संस्था तथा व्यक्तिलाई सहयोग गर्दै आएको छ । यस पटक दुवै मिर्गौला फेल भएका गायक प्रसाद खप्तडी मगर, सपना रोकामगरको फाउन्डेसन र सामाजिक अभियन्ता सुजना थापा श्रीसलाई पनि सहयोग गर्ने भएको छ ।
यसअघि दीलशोभा पाठकको आमा घरलाई शौचालय बनाउन, अनुराधा कोइरालाको माइती नेपाललाई, इन्दिरा रानाको पश्चिमाञ्चल महिला प्रशूतिगृह, बाबुआमा जेल बसेका बालबालिकाको पालनपोषणका लागि, पवित्रा सेवा फाउन्डेसन, फेम्लिपार्क अस्पताल, क्यान्सर रिसर्च फार्नहाम अस्पताल, पश्चिम नेपालका विभिन्न क्षेत्रमा पानीको धारा बनाउन, दुःख पाएका मानिसलाई गिभिना मगरमार्फत सहयोग गरिसकेको छ ।
सामुयल कोडी स्पोर्ट्स कलेज (वल्ड ओकफाम स्कुल) मा भएको कार्यक्रममा अध्यक्ष धना रोकाले उपस्थित सबैलाई धन्यवाद दिएकी थिइन् ।
कार्यक्रमको फोटो तथा भिडियो गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले खिचेका थिए भने डीजे नेल्सन र गोल्डी थिए।