काठमाडौँ । विश्वशान्ति काग्युर (त्रिपिटक) पाठ वाचन महापुजा अनुष्ठानमा कांग्युर वाचन संस्थापक जिन्दाग ग्रहणार्थ युकेबाट क्या. कृष्णबहादुर र विष्णु गुरुङले ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
पर्वतको भंगारा घर भई हाल युकेस्थित मोर्डन लन्डन निवासी चार भन्ज्याङ तमु समाज युकेका प्रमुख सल्लाहकार रहेका क्या. कृष्णबहादुर दम्पतीले सम्पूर्ण परिवारको तर्फबाट उक्त सहयोग गरेका हुन् ।
गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रले चैत ६ देखि १२ गतेसम्म काठमाडौँमा विश्वशान्ति कांग्युर (त्रिपिटक) पाठ वाचन महापूजा अनुष्ठान गर्दैछ।
यसैबीच, अनुष्ठानमा भोजन दानका लागि युके निवासी चित्रमान र शर्मिला गुरुङ दम्पतीले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
पुर्ख्यौली घर स्याङ्जाको आधिखोला-१ सिरुबारी भएका चित्रमानले पनि परिवारको तर्फबाट सहयोग गरेको गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रले वेबमार्फत् जनाएको छ ।
भोजन दानका लागि २५ हजार प्रदान गर्नेमा नरबहादुर र धनमाया गुरुङ पनि छन् । सिरुबारी नै घर भएका उनीहरूको परिवार पनि युकेमा बस्दै आएको छ ।
यस्तै, स्व. निशा गुरुङको स्मृतिमा उनका बुवाआमा होमबहादुर र श्रीकाशी गुरुङले पनि २५ हजार रुपैयाँ प्रदान गरेर भोजन दान गरेका छन् । कास्कीको मादी गाउँपालिका पाखुरीकोट घर भएको होमबहादुरको परिवार हाल युकेमा नै बस्दै आएको छ ।
अनुष्ठान चार भन्ज्याङ तमु समाज भवन बुढानीलकण्ठमा हुनेछ । केन्द्रको स्थापना २०७० सालमा स्थापना भएको हो ।