लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको शुरूआतमा महासचिव शुशीला थापामगरले स्वास्थ्य र सुरक्षाबारे प्रस्तुती दिएकी थिइन् । कार्यक्रम पनि उनैले सञ्चालन गरिन्।
प्रमुख अतिथि नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथि रस्मोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटन तथा जीआरएनसी अध्यक्ष मनबहादुर गुरुङ र उपाध्यक्ष सुष्मा गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
त्यसपछि उपाध्यक्ष गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् । उपनियोग प्रमुख खनाल र मेयर ग्रेटनले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष लीला सेलिङ माबो र सुष्मा गुरुङले नारी दिवससम्बन्धी कविता प्रस्तुत गरेका थिए । त्यस्तै विशाल गुरुङ र गोमा रानाले पनि कविता सुनाएका थिए ।
अनि स्वागत नृत्य प्रस्तुत गरिएको थियो भने सांस्कृतिक सचिव दिनेश गुरुङले बाँसुरी बजाएर मनोरञ्जन प्रदान गरेका थिए ।
त्यसपछि नेपालबाट आएका विभिन्न सामाजिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य तथा अनुभव आदानप्रदान गरेका थिए ।
अल्ट्रा धावक मिरा राईले नेपालबाटै भर्चुअल माध्यमबाट सहभागी भएर आफ्नो भनाइ तथा अनुभव सुनाएकी थिइन् ।
बीबीसीको प्रभावशाली महिलामा पर्न सफल सपना रोकामगर, प्रमीला लाबुङ, सुजना थापा, मखेल्छुका अन्जु र कृष्ण गुरुङ, पुष्पा सुनुवार, डा. जित तामाङ, आरएनआरसी अन्जु गुरुङ र शर्मिला कुँवरले पनि शुभकामना मन्तव्य राखेका थिए ।
त्यसपछि केक काटेर नारी दिवसको उत्सव मनाइएको थियो । मुख्य औपचारिक कार्यक्रम सकिएपछि सांस्कृतिक कार्यक्रम भएको थियो ।
सांस्कृतिक सचिव दिनेश गुरुङले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा लोकदोहोरी गायक तथा गायिकाहरू सविन कोके गुरुङ, निर्जला गुरुङ र मुना मगरले गायन तथा नृत्यमार्फत सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।