लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बेलायतको अल्डरसटस्थित एम्पायर हलमा फोनिज यूकेकी अध्यक्ष गोमा रानाको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको प्रमुख आतिथ्यतामा शनिबार ५ नोभेम्बर २०२२ का दिन फोनिज यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा फोनिज यूकेका अध्यक्ष रानाले संस्थाको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उक्त प्रतिवेदनलाई उपस्थित सदस्यहरुले सर्वसम्मतले पारित गरेका थिए ।
संस्थाका सचिव लिला सेलिङ माबोले संचालन गरेको साधारणसभाले फोनिज यूकेको सदस्यता शुल्क २५ पाउन्ड पारित गरेको छ ।
साधारणसभामा फोनिज यूकेले सल्लाहकार तथा पत्रकार हरिकुमार गुरुङ (काजी) लाई 'फोनिज यूके पत्रकारिता सम्मान' प्रदान गर्यो भने सक्रिय पत्रकार अमित थेबे (मिहाङ) लाई 'फोनिज युके उत्कृष्ट पत्रकार पुरस्कार' बाट पुरस्कृत गरिएको छ । पत्रकार मिहाङले १०१ पाउन्ड नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । सो नगद पुरस्कार नेफिन यूकेका अध्यक्ष शेर्पाले प्रायोजन गरेका थिए । साधारणसभामा नयाँ सदस्यहरु तथा पत्रकारहरु किरण राई, रमेश राई र टेक माबोलाई फोनिज यूकेमा स्वागत गरिएको थियो ।
त्यस्तै नेफिन यूकेका सल्लाहकार दुत पुन (चिम्खोले काइँला)ले नेफिन यूकेलाई विशेष योगदान पुर्याएबापत र न्यू लक्ष्मी ज्वेलर्सका प्रबन्ध निर्देशक लक्ष्मी राईले विशेष आर्थिक सहयोग गरेबापत नेफिन यूकेका अध्यक्ष शेर्पाले 'नेफिन युके समान'द्वारा सम्मान गरेका थिए ।
साधारणसभामा निवर्तमान अध्यक्षहरु विश्वासदीप तिगेला र प्रमिला लाबुङ राई, सल्लाहकारहरु एकेन्द्र गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, एभरेस्ट टाइम्सका सम्पादक चिम्खोले काइँला, पत्रकार जमुना पुन, मगर संघ यूकेका निवर्तमान अध्यक्ष सुनिल राना, नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बु, न्यू लक्ष्मी ज्वेलर्सकी प्रबन्ध निर्देशक लक्ष्मी राई, पत्रकार किरण राई, ग्लोबल दैनिकका सहसम्पादक बिमला लिम्बु, पत्रकार अमित थेबे (मिहाङ)ले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्य दिनेक्रममा पत्रकारहरु विश्वासदीप तिगेला, हरिकुमार गुरुङ (काजी), संस्कृतिका जानकार एवं गितकार एकेन्द्र गुरुङ र पत्रकार थेबेले आदिवासी जनजाति पत्रकारहरु तथा पत्रकारितासँग सम्बन्धित संस्थाहरुबारे चर्चा गर्दै त्यसको भूमिकाबारे बोलेका थिए ।
नयाँ सदस्य तथा पत्रकारहरु टेक माबो, किरण राई, रमेश राई, अन्तर्राष्ट्रिय मगर मञ्चका उपाध्यक्ष तथा मगर संघ यूकेका उपाध्यक्ष रुद्र थापालगायतको पनि उपस्थिति थियो ।