लन्डन । नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) युकेको १४औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार सम्पन्न सभाबाट संयोजकमा समीरनाथ प्याकुर्याल, सचिवमा दामोदर आचार्य तथा कोषाध्यक्षमा खेमराज जोशी चयन भएका छन् ।
यस्तै, ट्रस्टीहरूमा राजेन्द्र ओझा, रबिन्द्र अधिकारी, लेखनाथ घिमिरे, सुमन प्रधान, चुरामणि रेग्मी, तेजमाया रेग्मी सिग्देल, ऋषि खनाल, प्रकाश न्यौपाने, श्याम कोइराला, डा। प्रसन्ना नेपाल, प्रभु न्यौपाने, बसन्त नेपाल, रामसुन्दर शाह, किरण अधिकारी, भानबहादुर चन्द, प्रसुन राना, सुमन गुरुङ, दशरथ बस्याल, कुल प्रसाद सिग्देल, सिर्जना कोइराला र पार्वतीदेवी न्यौपाने छन् ।
त्यसअघि साउथ ह्यारोमा आयोजित समारोहमा संस्थाको २०२१/२४ कार्यकालका अध्यक्ष राजेन्द्र ओझाले कार्य प्रगति प्रस्तुत गरे । कोषाध्यक्ष खेमराज जोशीले संस्थाको आयव्यय विवरण प्रस्तुत गरेका थिए।
अध्यक्ष ओझाले कोभिड १९ को बेलामा पनि आफ्ना सदस्य तथा स्थानीय सदस्यलाई सहयोग गरेको स्मरण गर्दै नेपालमा दृष्टिबिहीन बालबालिकाको पठन(पाठनमा सघाउनुका साथै पवित्र नेपाल समाजलगायत संस्थालाई सहयोग गरेको बताए । उनले नेपाल ब्रिटेन डटकमले गत वर्ष एनबीसी युकेलाई बेलायतको उत्कृष्ट च्यारिटीको रूपमा सम्मान गरेको पनि जनाए।
साधारणसभा उद्घाटन समारोहमा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सचिव चिरञ्जीवी ढकालले बेलायतमा नेपालीको दोस्रो मात्रै नभएर तेस्रो पुस्ता पनि हुर्किँदै गरेको बताउँदै नयाँ पुस्तालाई पनि समेट्ने गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
संस्थाका सल्लाहकार डा. श्याम चन्दले प्रवासी समुदायको एकीकरणका लागि बेलायतमा थुप्रै स्रोत उपलब्ध रहेको भन्दै त्यसको खोजी गरेर समुदायको हितमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिए।
समाजसेवी शिवजी श्रेष्ठले एनबीसी युकेमा देखिएको एकता प्रशंसनीय रहेको भन्दै नेपाली संघसंस्थाका निर्वाचन समितिले सहजीकरण समितिको रूपमा काम गरेर सर्वसम्मतिको वातावरण बनाउन पहल गर्नुपर्ने बताए ।
बीबीसी नेपाली सेवाका पूर्वपत्रकार भगीरथ योगीले बेलायतमा हुर्किँदै गरेका बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन गर्न, बेलायतका स्थानीय पुस्तकालयमा नेपाली भाषाका पुस्तक प्रदान गर्न र हाल बेलायतमा आएका नेपाली विद्यार्थीलाई सहयोग गर्न हेल्प डेस्क स्थापना गर्न सुझाव दिए।
कार्यक्रममा गोर्खा समाजका अध्यक्ष अशोक ढकाल, कोडेक युकेकी प्रतिमा दाहाल, नेप्लिज एकाउन्टेन्ट्स एसोसिएसन युकेका अध्यक्ष शशिधर नेपाल, स्लाउ नेपाली समाजका अध्यक्ष लेखनाथ घिमिरे, नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष भोला पनेरु, समाजका कार्यसमिति सदस्यद्वय सुमन प्रधान तथा दशरथ बस्याललगायतले शुभकामना दिएका थिए । कार्यक्रममा संस्थालाई सहयोग गर्ने महानुभाव तथा संस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको दोस्रो सत्रमा निर्वाचन समितिका संयोजक मिलन घिमिरेले आगामी कार्यकालका लागि २४ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । समाजका संस्थापक संयोजक कमल पौडेलले सदस्यलाई शपथ गराएका थिए ।
कार्यक्रमको समापन समारोहमा निवर्तमान अध्यक्ष ओझाले आफूलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष प्याकुर्यालले अहिलेको रफ्तारलाई कायम राख्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी आफूले काम गर्ने वाचा गरे ।
उनले सबैसँग सरसल्लाह गरी संस्कृति, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि जनाए। उक्त अवसरमा केक काटेर खुशीयाली मनाइएको थियो ।
त्यसपछि नयाँ कार्यसमितिको शनिबार नै बसेको बैठकले संयोजक, सचिव, कोषाध्यक्ष र ट्रस्टीहरू चयन गरेको थियो ।