लन्डन । बुद्धिस्ट गुम्बा रेडिङ युकेले ३१ मार्चमा आयोजना गर्न लागेको च्यारिटी गजल डिनर साँझको तयारी अन्तिम चरणमा पुगेको छ ।
बुद्धिस्ट गुम्बा रेडिङ युकेले शनिबार आफ्नै हलमा पत्रकार सम्मेलन आयोजना गरेर गजल डिनर र यसको तयारीबारे जनाकारी दिएको हो । गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजना गर्न लागिएको हो ।
अल्डरसटस्थित एम्पायर हलमा हुने गजल डिनरमा ख्यातिप्राप्त गजलगायक तिलकसिंह पेला र राज सिग्देलको प्रस्तुति रहनेछ ।
महासचिव कमल गुरुङले पत्रकारहरूलाई स्वागत गर्दै पत्रकार सम्मेलनको शुरूआत गरे । युकेमा गजलैगजलको साँझ पहिलो पटक गर्न लागिएको उनले बताए ।
त्यसपछि अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङले कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । पुण्य कामका लागि भएकाले कार्यक्रमको टिकट काटेर सहयोग गर्न उनको अनुरोध छ । उपाध्यक्ष नरबहादुर गुरुङ, कोषाध्यक्ष मेजर बुद्धि गुरुङ, सचिव युवराज गुरुङ, कार्यक्रमका कोअर्डिनेटर चन्द्रमान गुरुङलगायतको उपस्थिति थियो ।
गुम्बाको मर्मत सम्भारका लागि आर्थिक संकलनका लागि गजल डिनर आयोजना गर्न लागिएको कोअर्डिनेटर चन्द्रमान गुरुङले बताए । कार्यक्रममा आएर दान गरेर पुण्य कमाउन र मनोरञ्जनसमेत लिन उनले आग्रह गरे । कलाकारको भिजालगायत प्रक्रिया पूरा भइसकेको उनले जनाए ।
कोषाध्यक्ष गुरुङले आर्थिक संकलन र भावी कार्ययोजनाबारे जानकारी गराए । अन्त्यमा अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा उपस्थित सबैलाई धन्यवाद दिँदै समापन गरे ।
टिकटदर प्रतिव्यक्ति साधारणतर्फ ४० पाउन्ड तथा भीआईपीतर्फ १०० पाउन्ड रहेको छ । प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव गुरुङले बताए ।
गुम्बाले यसअघि २०१९ जुलाईमा पहिलो च्यारिटी गरेको थियो। त्यसबेला आनिछोइङ डोल्माले प्रस्तुति दिएकी थिइन् ।