लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर नेपाल प्रस्थान गरेका छन् ।
वंशजको नेपाली नागरिकता निरन्तरताबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपप्रधान तथा पररराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी कुराकानी गर्ने मिसनसहित अध्यक्ष गाहामगर शुक्रबार नेपाल प्रस्थान गरेका हुन् । नेपाल उड्नुअघि उनले सामाजिक सञ्जालमार्फत ‘यात्रा नेपाल, मिसन वंशजको नेपाली नागरिकता निरन्तरता’सम्बन्धी स्टाटस् पोस्ट गरेका छन् ।
अध्यक्ष गाहामगरले आफू भूतपूर्व गोर्खा भएकाले गोर्खामाथि भएको भेद्भावबारे पनि नेपाल सरकारसँग कुरा राख्ने जनाउँदै यही २७ मार्चमा हुन लागेको ‘जिटुजी’ वार्तामा नेपाल सरकारबाट मन्त्रिस्तरको प्रतिनिधि सहभागी गराउनुपर्ने विषयमा पनि आग्रह गरिने बताएका छन् ।
जुन जस्ताको तस्तै
‘यात्रा नेपाल, मिसन वंशजको नेपाली नागरिकता निरन्तरता’
नेपाल उड्न केही समय बाँकी रहँदा मेरो मिसनबारे यहांहरु समक्ष अवगत गराउन चाहन्छु । यसपटकको नेपाल भ्रमण वंशजको नेपाली नागरिकता निरन्तरता अभियानमा दवाव दिनकै लागि तय गरेको हुँ ।
नयनियुक्त गृहमन्त्री रवि लामिछाने र नवनियुक्त परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसंग भेटेर मैले पुनः वंशजको नेपाली नागरिकता निरन्तरता कायम गराउने सवालमा पहल कदमीका लागि ज्ञापनपत्र पेश गर्ने मेरो प्रमुख लक्ष्य छ । गृहमन्त्री लामिछानेज्यू आफैं दोहोरो नागरिकता विषयमा धेरै हण्डर, उतारचढाव र आलोचना खेपेको व्यक्ति भएकाले मलाई आशा छ, उहांले हाम्रो वंशजको नेपाली नागरिकता माग र महत्वलाई गम्भीर रुपमा मनन गर्नु हुनेछ ।
मैले यसअघि प्रधानमन्त्रीदेखि धेरै मन्त्री भेटेर ज्ञापनपत्र बुझाएकै हो तर सम्भवतः ति नहेरिकनै डष्टबिनमा फ्यांकिए होलान् । यसपटक सबैको आशाका केन्द्र रवि लामिछाने र नारायणकाजीज्यूले हाम्रो मुद्दा अलिकति गम्भीर रुपमा लिइदिनु हुनेछ भन्ने विश्वास जागेको छ ।
अर्को कुरा, म आँफै भूतपूर्व गोर्खा भएकाले मैले गोर्खामाथि भएको भेदभावबारे पनि नेपाल सरकारसँग अवश्य कुरा राख्ने छु । यही २७ मार्चमा हुन लागेको ‘जिटुजी’ वार्तामा नेपाल सरकारबाट मन्त्रीस्तरको प्रतिनिधि जानु पर्यो भनेर म कुरा राख्ने छु ।