लन्डन । युकेको अल्डरसटस्थित शिव कल्चर मन्दिरमा शिवरात्रि धूमधामका साथ मनाइँदै छ ।
शिवरात्रिको अवसरमा मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शनार्थीहरू लामबद्ध भएर पूजा गर्ने र फर्किने क्रम चलिरहेको छ ।
शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर युकेका अध्यक्ष विक्रम भट्टराईको अध्यक्षतामा भएको शिवरात्रि पूजा कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, उनकी धर्मपत्नी र भरतपुरकी मेयर रेनु दाहालले पनि दर्शन तथा पूजा गरेका छन् ।
यस्तै, एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, उनकी धर्मपत्नी रिता क्षेत्री, पूर्वडीएसपी शिवजी श्रेष्ठ, उनकी धर्मपत्नी, बीसीसी युकेका अध्यक्ष हर्क गुरुङ, काउनसिलरहरू धन सार्की र जीव बेल्वासे, जीआरएनसीका अध्यक्ष मान गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र संरक्षक रोहित गुरुङले पनि शिवको दर्शन गरेका छन् ।
निवर्तमान अध्यक्ष बाचस्पति रेग्मीको पनि उपस्थिति थियो। मन्दिर परिसरमा भजन गाउने तथा नाच्ने क्रम बिहानैदेखि चलिरहेको छ । दिउँसो ३ बजेसम्म करिब ६०० जनाले दर्शन गरिसकेका छन् । यो क्रम राति १२ बजेसम्म जारी रहन्छ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले शिवरात्रिका दिन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । महाशिवरात्री कार्यक्रमको कोअर्डिनेटर संस्थाका उपाध्यक्ष हरि भट्टराई रहेका छन् ।