लन्डन । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले सामाजिक अभियन्ताहरु सपना रोकामगर र सजना थापा श्रीसलाई आर्थिक सहयोग गरेको छ ।
बेवारिसे शव व्यवस्थापनबाट चिरपरिचित समाजसेवी सपना र क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजनालाई जनही ७ सय पाउन्डका दरले सहयोग हस्तान्तरण गरेको महासचिव प्रमिला लाबुई राईले जानकारी दिइन् । 'गैर आवासीय नेपाली संघ बेलायतले क्रियटिभ आर्टको संस्थापक साथै गोर्खा वुमन एन इको इन द स्टोरी डकुमेन्ट्रीको निर्मात्री सुजना थापा श्रीस र बेबारिसे लास जलाउने सामाजिक अभियन्ता साथै बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोकामगरलाई उहाँहरुको फाउन्डेसनलाई केही सहयोग पुगोस् भन्ने हेतुले सात सय पाउन्डको दरले पैसा हस्तान्तरण गरिएको छ,' महासचिव राईले भनिन् ।
सामाजिक अभियन्ताद्वयलाई सहयोग रकमको चेक एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरमार्फत प्रदान गरिएको थियो ।
सपनाको चाहना समृद्ध नेपाल (सपना फाउन्डेसन) की अध्यक्षसमेत रहेकी सपना गत २२ डिसेम्बर २०२३ शुक्रबार बेलायत आएकी हुन् ।
युवा चित्रकार सुजाना २२ फेब्रुअरी (फागुन १० गते) लन्डन आइपुगेकी हुन् । सुजाना डकुमेन्ट्री मेकर, चित्रकार र पत्रकार पनि हुन् । उनले गत नोभेम्बरमा नेपाल आर्ट काउन्सिलमा गोर्खाका श्रीमतीहरुको कथा झल्काउने चित्रकला प्रदर्शनी ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ सफलतापूर्वक गरेकी थिइन् । पोट्रेटस, अडियो-भिज्यूअल सामग्री, कलाकृतिहरु आदि समावेश भएको उक्त प्रदर्शनीले धेरै दर्शकको ध्यान खिचेको थियो । उनले सन् २०१८ मा ‘भार्सेली गोर्खा: फ्रम स्टोरिज टु पोट्रेटस’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेमा एकल चित्रकला प्रदर्शनी पनि गरेकी थिइन् ।
उनको सामूहिक चित्रकला प्रदर्शनी ‘ब्ल्याक एण्ड ह्वाइट’ भने सन् २०१५ मा काष्ठमाण्डप आर्ट स्टुडियोमा भएको थियो । ‘गाउँ आएको बाटो’ (अ रोड टु अ भिलेज) फिचर फिल्ममा पनि उनले आर्ट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन् ।