लन्डन । चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल बेलायतमा 'इन्टरनेसनल मेयर अवार्ड' बाट सम्मानित भएकी छन् ।
दुई पटक लगातार मेयर जितेर विकास निर्माणबाट चर्चा कमाइरहेकी मेयर दाहाललाई बिहीबार ७ मार्च २०२४ मा बेलायतको संसद् भवन 'हाउस अफ कमन्स'मा अवार्ड प्रदान गरिएको हो ।
अवार्ड पाउँदा आफूलाई गौरवान्वित महसुस भएको मेयर दाहालले प्रतिक्रिया जनाएकी छन् । 'बेलायतको संसद् भवन 'हाउस अफ कमन्स' स्थित लन्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना फकिम लगायतका उच्च नेतृत्व क्षमता प्रदर्शन गरेका व्यक्तित्वहरुका बीच सँगै सम्मान ग्रहण गर्दा गौरवान्वित महसुस भएको छ,' उनले सामाजिक सञ्जालमा लेखिकी छन्, 'मेयर खानलाई लोकल गभरमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर र मलाई इन्टरनेसनल मेयर अवार्डद्वारा दर्जनौं उच्च राजनीतिक नेतृत्वबीच सम्मान गरिएको थियो ।'
पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरक-फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको थियो ।
यस वर्ष उक्त अवार्ड पाउनेहरुमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति अमिना गुरिब फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि थिए ।
बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न मेयर दाहाल मंगलबार बेलायत आइपुगेकी हुन् । यहाँ आएपछि उनले एनआरएनए युकेले अल्डरसटमा आयोजना गरेको नारी दिवस कार्यक्रममा सहभागिता जनाइन् भने बुधबार बेलुका मेयर दाहालको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यले आयोजना गरेको ‘रिसेप्सन’ मा पुगेकी थिइन् ।