लन्डन । बेलायतमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको यही २५ मार्चमा अन्त्येष्टि गरिने भएको छ ।
तामाङ सोसाइटी अफ युकेको सहयोग र सहभागितामा हिलिङ्डन काउन्सिलअन्तर्गत ब्रेकस्पेयर रोडस्थत ब्रेकस्पेयर क्रिमेटोरियममा सन्दीपको अन्त्येष्टि कार्यक्रम रहेको तामाङ सोसाइटी अफ युकेका महासचिव मनी तामाङले जानकारी दिए ।
तामाङ सोसाइटी युकेका अध्यक्ष ज्ञान तामाङको संक्षिप्त भनाइपछि बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका लामा गुरुबाट सन्दीपको पार्थिव शरीरमा अग्नि दिने कार्यक्रम रहेको उनले बताए ।
उनका अनुसार अन्त्येष्टि बिहान साढे ९ देखि १० बजेसम्म हुनेछ । मलामी चोख्याउने र जलपानको व्यवस्थासमेत तामाङ सोसाइटी युकेले गर्नेछ ।
पुर्ख्यौली घर तेह्रथुम जिल्ला भई ललितपुर-१४ नखिपोट निवासी बेनकुमार तामाङ र डोलमाया तामाङका छोरा सन्दीपको गत जनवरी २० मा हिलिङ्डन काउन्सिलअन्तर्गत हेज टाउन नजिकै पार्कमा शव फेला परेको थियो ।
उनी २०२२ मार्च १ मा ‘स्किल्ड’ भिसामा बेलायत आएर काम गर्दै आएका थिए । बेलायतमा आफन्त कोही पनि नभएका सन्दीपको शव फेला परेपछि स्थानीय प्रहरीले नेपाली दूतावास लन्डनलाई बुझिदिन आग्रह गरेको थियो ।
दूतावासले बेलायतमा रहेका विभिन्न संघसंस्थालाई खबर गर्ने क्रममा तामाङ सोसाइटी अफ युकेका पूर्वअध्यक्ष धर्म तामाङलाई फोनबाट जानकारी गराएको थियो । त्यसपछि उनले सोसाइटीका अध्यक्ष ज्ञान तामाङ र महासचिव मनि तामाङलाई सन्दीपको शव भेटिएको बारे जानकारी गराएका थिए ।
त्यतिबेलासम्म शव बेलायतको कोरोनर वेस्ट अफ लन्डनमा रहेको स्वतन्त्र न्यायपालिकालाई हस्तान्तरण भइसकेको थियो । कोरोनर वेस्ट अफ लन्डनले शव पोस्टमार्टम र अनुसन्धान गर्न १६ हप्ता लाग्ने जानकारी इमेलमार्फत लन्डन दूतावासलाई दियो ।
उक्त जानकारीपछि तामाङ सोसाइटीका महासचिव तामाङले कोरोनर वेस्ट अफ लन्डनमा उक्त शव तामाङ परम्पराअनुसार दाह संस्कार गर्न पाउँ भनी इमेलमार्फत नै निवेदन लेखेका थिए । उक्त निवेदन स्वीकृत भएपछि अन्त्येष्टिको कार्यक्रम टुंगो लागेको महासचिव तामाङले जानकारी दिए ।
उनले सन्दीपको अन्तिम संस्कारमा सहभागी भइदिन बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रहसमेत गरेका छन् । सन्दीपको अस्तु नेपाल पठाउने व्यवस्था तामाङ पनि सोसाइटी युकेले नै गर्नेछ ।