लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले विभिन्न कार्यक्रमसहित ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।
भरतपुर महानगरपालिका चितवनकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यतामा अल्डरसटस्थित एम्पायर हलमा मंगलबार साँझ कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मेयर दाहालले नेपाली समाजमा पनि महिलामाथि विगत जस्तो भेदभाव नरहेको र महिलाहरू सशक्त रूपमा अगाडि बढ्दै गएको बताइन् ।
आफ्नो महानगरले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मनाउने घोषणा गरेको जनाउँदै उनले बेलायतवासी नेपालीलाई भरतपुर घुम्न आउन अनुरोध गरिन् ।
कार्यक्रममा विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए आइसीसी पूर्वअध्यक्ष कुल आचार्य, उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए युके महिला संयोजक रेजिना गुरुङलगायतले विश्वभरका नारीप्रति शुभकामना दिएका थिए । यस्तै तमु धीं युकेका अध्यक्ष हरि गुरुङले पनि कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।
वक्ताहरूले नारी पुरुष एकसाथ अगाडि बढे मात्र समृद्ध समाज र राष्ट्र बन्न सक्ने औँल्याए । महिला सशक्तीकरणमा पनि उनीहरूको जोड थियो । सो अवसरमा केक काटेर एनआरएनए युके स्थापनाको १९औँ वार्षिकोत्सव पनि मनाइएको थियो ।
एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन गर्दै महासचिव गोविन्द खरेलले संघका गतिविधि र भावी कार्यक्रमबारे अवगत गराएका थिए ।
यस कार्यक्रमले महिलाको उपलब्धि उजागर मात्र नभई युके नेपाली डायस्पोरामा एकता र सशक्तीकरणलाई बढवा दिने काम गरेको पनि खरेलले बताए ।
एनआरएनए युके तथा कार्यक्रमका अध्यक्ष हितकाजी गुरुङले छोटो समयका बाबजुद पनि कार्यक्रममा सहभागी भएकोमा मेयर दाहाल, उपनियोग प्रमुख खनालसहित सबैप्रति आभार व्यक्त गरे ।
एनआरएनए युके उपाध्यक्ष सपना खनियाले स्वागत मन्तव्य राखेकी थिइन् । एनआरएनए युरोप महिला संयोजक प्रसुना कँडेल, एनआरएनए आईसीसी सहकोषाध्यक्ष अमृता थापा (कञ्चन) लगायतको सहभागिता थियो ।