लन्डन । चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको स्वागतमा नेपाली दूतावास लन्डनले एक कार्यक्रम गरेको छ ।
अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न लन्डन आइपुगेकी दाहाललाई बुधबार साँझ दूतावास भवनमा एक कार्यक्रमबीच स्वागत गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले देश विदेशबाट आफ्नो महानगरको काम सूक्ष्म ढंगले अध्ययन तथा मूल्यांकन भएर नै आफूले अवार्ड पाउन लागेको जानकारी पाएको बताइन् ।
दाहालले भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन भइसकेको जनाउँदै बेलायतवासी नेपालीलाई पनि भरतपुरमा घुम्न आउन निम्तो दिइन् ।
प्राकृतिक सम्पदाले भरिपूर्ण भरतपुरको सही व्यवस्थापन गर्न सके आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने पनि दाहालको भनाइ थियो । ‘भरतपुरको भविष्य छ। हामी यसको समृद्धि गर्न लागिरहेका छौँ,’ उनले भनिन् ।
उनले बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि भरतपुर भ्रमण वर्षको औपचारिक निमन्त्रणा दिइन् ।
कार्यक्रममा राजदूत आचार्यले मेयर दाहालको स्वागत गर्दै बेलायत नेपाल सम्बन्ध विगत दुई दशकयता जनस्तरमा व्यापक विस्तार भइरहेको बताए ।
राजदूत आचार्यले बेलायतवासी नेपालीले मातृभूमि र बेलायतमै पनि आफ्नो कला, संस्कृति र देशलाई प्रचारप्रसार गरिरहेको उल्लेख गरे । उनले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताए ।
कार्यक्रम सञ्चालन गर्दै नियोग उपप्रमुख रोशन खनालले बेलायतको नेपाली समुदाय अत्यन्त क्रियाशील रहेको अवगत गराइन् ।
नेपाली मूलकी एक्लो मेयर निना गुरुङ, काउन्सिलरहरू नेम थापा, कमल गुरुङ, लक्ष्य गुरुङ, धनबहादुर सार्की, एनआरएनए युके अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए निवर्तमान अध्यक्ष कुल आचार्यलगायत प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा भरतपुर भ्रमण वर्ष सम्बन्धी वृत्तचित्र पनि देखाइएको थियो ।
मेयर दाहाल, उनका श्रीमान् अर्जुन पाठक, छोरी-ज्वाइँ १० तारिख बेल्जियम हुँदै केही युरोपेली देश घुमेर १९ मार्चमा नेपाल फर्किने कार्यक्रम छ ।