लन्डन । चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल बेलायत आइपुगेकी छन् ।
बेलायतको तल्लो सदन ‘हाउस अफ कमन्स’ मा प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न मेयर दाहाल मंगलबार बेलायत आइपुगेकी हुन् ।
लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो सभापति कृष्णकुमार राई, जनप्रगतिशील मञ्च यूके अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन प्रवर्द्धक धनबहादुर सार्की, किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश राईलगायत हिथ्रो विमानस्थल पुगेर दाहाललाई बेलायतमा स्वागत गरेका थिए ।
मेयर दाहालले पाउन लागेको ‘अन्तराष्ट्रिय मेयर अवार्ड’ वितरण समारोह बिहीबार साँझ बेलायती संसद भवनमा हुँदैछ। त्यसअघि मंगलबार बेलुका एनआरएनए युकेले अल्डरसटमा गर्न लागेको नारी दिवस कार्यक्रममा उनी सहभागी हुँदैछिन् ।
त्यस्तै, बुधबार बेलुका दाहालको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यले एक ‘रिसेप्सन’ आयोजना गर्दैछन्।
शुक्रबार साँझ भने दाहालले लण्डनको रोयल ग्रीनवीच बरोमा अवलोकन एवम् अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यस्तै, आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशिल मञ्च युकेसंग अन्तरक्रिया गर्नेछिन्।