लन्डन । नेपाली कोअपरेटिभ इन्भेस्टमेन्ट लिमिटेड युकेको अध्यक्षमा चौथोपटक मोहन गुरुङ सर्वसम्मत चयन भएका छन् ।
प्लमस्टेडस्थित क्याप्रीकर्न रेस्टुरेन्टमा भएको संस्थाको वार्षिक साधारणसभाबाट मोहनको नेतृत्वमा रहेको कार्यसमिति पुन: चयन भएको हो । कार्यसमितिको सचिवमा डा. मुकुन्द बास्तोला, कोषाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे, कार्यकारी सदस्यहरुमा तिलक भट्टराई, सिर्जना गौतम, सुशील प्रजापती र टिकाराम सापकोटा छन् ।
कार्यसमिति चयनका लागि सुमलकुमार गुरुङको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो । सदस्यहरुमा संगीता मरहठ्ठा र माधवलाल श्रेष्ठ थिए । निर्वाचन समितिले कार्यसमिति घोषणापछि पद तथा गोपनियताको शपथग्रहणसमेत गराएको थियो ।
अध्यक्ष गुरुङले पानसमा बत्ति बालेर साधारणसभा उद्घाटन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले कोअपरेटिभ नाफामा रहेको बताउनुभएको थियो । उनका अनुसार नेपालको तनहुँ दुलेगौडाको सोलार फार्म, काभ्रेको अर्ग्यानिक फार्म र लन्डनमा प्रोपर्टीमा गरिएको लगानी नाफा रहेकले त्यसबाट अरु लगानीका लागि उत्साह बढेको छ । झापामा हुन गइरहेको अर्को सोलार परियोजनाबारे सम्भाव्यताबारे प्रकाश पार्दै उनले नेपाली कोअपरेटिभ इन्भेस्टमेन्ट यस वर्ष पनि नाफामा रहेको बताए ।
कार्यक्रममा नेपाली कोअपरेटिभ इन्भेस्टमेन्टका सचिव डा. मुकुन्द बास्तोलाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले आर्थिक गतिविधि, विभिन्न लगानीको अवस्था बारेमा विवरण प्रस्तुत गरेका थिए । कार्यकारी सदस्य तिलक भट्टराईले लन्डनमा प्रोपर्टी बिजनेस सम्बन्धमा र संस्थामा अनुशासन पूर्ण पालना भएको बारेमा समितिका संयोजक बालजंग अर्याल समेतले सम्बोधन गरेका थिए ।
संस्थाका कार्यकारी सदस्य सुशील प्रजापतिले काभ्रेको अर्ग्यानिक फार्म भ्रमणको अनुभव र टिकाराम सापकोटाले तनहुँ दुलेगौडा सोलारपावरको वार्षिक साधारणसभाबारे आ-आफ्नो अनुभव सुनाएका थिए ।
सभामा उपस्थित सदस्यहरुले संस्था नाफामा रहेको र कार्यसमिति पदाधिकारीहरुले प्रस्तुत गरेको प्रतिवेदन सबैले ताली बजाएर पारित गरेका थिए । साधारणसभा संचालन संस्थाका सचिव डा मुकुन्द बास्तोलाले गरेका थिए । सभामा १०० भन्दा बढी शेयरधनीहरुको उपस्थिति थियो ।