लन्डन । चारभज्याङ तमु समाज युकेको १४औँ परोपकारी रात्रिभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
गत शनिबार फेल्थहाम कम्युनिटी कलेजमा भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बेनकुमार गुरुङले गरेका थिए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख अतिथि थिए ।
यस्तै, विशेष अतिथिमा एनआरएनए आईसीसी उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर , तमु धीं युके अध्यक्ष हरि गुरुङ, तमु समाज अध्यक्ष शिवकुमार गुरुङ, काउन्सिलर विष्णु गुरुङ, मे.रि उदयबहादुर गुरुङ, सहरा युके अध्यक्ष कृष्ण गुरुङ, सोपाल समाज युकेका अध्यक्ष श्रीप्रसाद गुरुङलगायत थिए ।
साथै कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको बाक्लो उपस्थिति थियो। समाजका महासचिव अमर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा विभिन्न व्यक्तित्वलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
जीसीएसईएसमा उत्कृष्ट नम्बर ल्याएर उत्तीर्ण हुने जोसना गुरुङलाई चारभन्ज्याङ एकेडेमिक अवार्डबाट पुरस्कृत गरिएको छ । उच्च शिक्षा हासिल गरेका स्वर्णिम गुरुङलाई पनि सम्मान गरिएको छ ।
यसैगरी, समाजमा प्रारम्भदेखि नै निरन्तर विशेष योगदान दिने सीबीटीएस युकेका पूर्वअध्यक्ष मेजर रिटायर्ड कृष्णबहादुर गुरुङ तथा सल्लाहकारहरू टेकबहादुर गुरुङ र लक्ष्मी गुरुङलाई पनि चारभज्याङ तमु समाज युकेले सम्मान गरेको छ । उनीहरूलाई समाजका अध्यक्षले खाता तथा राजदूत आचार्यले दोसल्ला ओढाइदिएका थिए ।
टेलिमेडिसिन क्लिनिक, नयाँ ट्रस्टी तीन परिवारहरू (जसले एक एक लाखभन्दा बढी प्रदान गरेका) लाई खादा र सर्टिफिकेटले सम्मान गरिएको थियो ।
अध्यक्ष गुरुङले प्रमुख अतिथी राजदूत आचार्यलाई मायाको चिनो प्रदान गरेका थिए ।
अन्त्यमा, अभिनय गुरुङ र सञ्जु घलेले मनोरञ्जन कार्यक्रम सञ्चालन गरेका थिए । नेपालबाट आएका सविन गुरुङ र निर्जला गुरुङले बेजोड सांगितिक प्रस्तुति दिएका थिए । कार्यक्रमका सहभागीले उनीहरूको गीतमा भरपुर मनोरञ्जन लिएका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण एभरेस्ट मिडियाका एसके गुरुङले गरेका थिए भने फोटो गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले खिचेका थिए ।