लन्डन २ मार्च २०२४ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
यही मार्च १० तारिखमा इन्पायर इन्क्लुजन, इन्फमेसन टु ट्रान्स्फमेसन, मनोरन्जनलगायत कार्यक्रम गरिन लागेको जीआरएनसी युकेका अध्यक्ष मान गुरुङले जानकारी दिए । अल्डरसटस्थित एम्पायर हलमा मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म हुने कार्यक्रममा सामाजिक अभियन्ता सपना रोका, चित्रकार सुजना थापा, धावक मिरा राई, सञ्चारकर्मी प्रमिला राई, व्यवसायी सुमन पुन, डाक्टर जीत तामाङ र पुष्पा सुनुवार वक्ता रहने छन् ।
उनीहरुले मानसिक स्वास्थ्य, अल्जाइमर क्याफे, शारीरिक स्वास्थ्य, ह्याम्पसायर पोलिस, फायर सेफ्टी, हाउजिङ एन्ड बेनिफिटलगायत ११ विषयमा सूचना प्रदान गर्नेछन् ।
सहभागीलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए । जीआरएनसी युकेले सचेतनामूलक तथा प्रेरणादायी विभिन्न सेमिनार, नेपाली भाषा कक्षा, परोपकारी कामहरु गर्दै आएको छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।