पोखरा । पोखरा ९ नयाँबजारस्थित तमु समुदायको अग्रणी सामाजिक संस्था तमुधिं नेपालको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले तमुधिं नेपालका महासचिव अधिवक्ता जुनाकुमारी गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभामा आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका गुरुङ उम्मेदवारहरुलाई परिचयका साथै विजयीको शुभकामना व्यक्त गरिएको थियो। विभिन्न राजनीतिक दल एवम स्वतन्त्र २२ जना प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष एवम् समानुपातिक उम्मेदवारहरुलाई तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सल्लाहकार मे.डिलबहादुर गुरुङ लगायतले टिका र खादा लगाएर विजयीको शुभकामना व्यक्त गरिएको थियो।
साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख तथा तमुधिं नेपालका आजिवन सदस्य मञ्जुदेवी गुरुङले तमुधिं नेपालले तमु समुदायको पहिचान, एकता, अग्रगति र सामुहिकताको विकासका सँगै समृद्ध समाज एवम राष्ट्र विकासका लागि उदाहरणीय भुमिका निर्वाह गरेको भन्दै प्रसंशा व्यक्त गरिन् । उनले राज्यबाट धेरै श्रोत र अधिकारहरुको व्यवस्था भए पनि हामी सचेत हुदाँ प्राप्त गर्न सक्ने बजेट, योजना, कार्यक्रमहरुबाट बञ्चित हुनुपरेकोमा सबैले राज्यबाट पाउने सेवा सुविधाबारे जानकारी राख्न र सुविधा प्राप्त गर्न आग्रह गर्नुभयो।पोखरा महानगरपालिकाले विकास, क्षमता अभिवृद्धि, संरक्षण सम्वद्र्धन लगायतका विषयमा धेरै कार्यक्रमहरु अघि सारेको जानकारी गराउँदै तमु समुदाय, समाज र तमुधिंसँग सहकार्य गर्न चाहेको बताइन् ।
कार्यक्रममा तमुधिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले तमुधिं नेपालको स्थापना, विकास र ३८ औं वार्षिक साधारणसभा सम्म विकासका सन्दर्भका बारेमा चर्चा गर्दै आगामी निर्वाचनमा उम्मेदवार बन्नु भएका तमुहरुलाई विजयीको शुभकामना व्यक्त गरे ।
शुभकामना व्यक्त गर्नुहुदै ङ्योए तमुधिंकी महासचिव काशिमाया गुरुङले तमुहरुको एकताबाट नै शक्ति निर्माण हुने भएकाले तमुधिं नेपाल र ङ्योए तमुधिंको कार्यगत एकता मात्र नभई संस्थागत एकता आवाश्यक रहेको बताइन् । अब तमुधिंकै नामबाट अघि बढौं सामाजिक, साँस्कृतिक, राजनीतिक अधिकार धेरै प्राप्त गर्न सकिन्छ भन्दै तमु उम्मेदवारहरुलाई विजयीको शुभकामना व्यक्त गर्दै निर्वाचित भईसकेपछि समुदायप्रति उत्तरदायी हुन आग्रह गरिन् ।
तमुधिं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेम गुरुङले शुभकामना व्यक्त गर्नुहुदै साउदी अरबमा संस्था स्थापना, संस्थाको उद्देश्य, तमुधिं नेपालसँगको सम्बन्धका बारेमा चर्चा गर्दै विदेशमा रहेका तमु संघ संस्थाहरुसँग सम्बन्ध विस्तारका लागि पहल रहने बताए । यसैबीच आगामी अधिवेशनबाट प्रवास शाखाका तर्फबाट साउदी अरबको सिफारिसमा एक जना कार्यसमितिका लागि प्रतिनिधित्व गर्ने, तमुधिं नेपाल साउदी अरब प्रवास शाखाको आजीवन सदस्यता तमुधिं नेपालमा कायम रहने र प्रवास शाखाहरुको समन्वय गर्ने जिम्मेवारी साउदी अरबका अध्यक्ष खेम गुरुङलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ।
कार्यक्रममा तमुधिं नेपालको नरबहादुर गुरुङ(नरजंग)पोखरा १३ समृद्धि टोल निवासी १ लाख १ हजार ११५ रुपैया प्रदान गर्दै तमुधिं नेपालको संरक्षक सदस्य बनेकोमा हार्दिक बधाई ज्ञापन गरिएको थियो भने तमुधिं नेपालका साउदी अरब प्रवास शाखाका अध्यक्ष खेम गुरुङ र तमुधिं जापानका पुर्व अध्यक्ष श्रीभक्त गुरुङलाई स्वागत एवम सम्मान गरिएको थियो ।
तमुधिं नेपालको अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, स्वागत नृत्य तमुधिं नेपाल केन्द्रिय आमा समिति र सञ्चालन महासचिव जुनाकुमारी गुरुङले गरेको थियो ।