लण्डन । बेलायतको मिडल्यान्ड निवासी समाजसेवी दयानिधि सापकोटाले मानव सेवा आश्रमलाई ५ लाख रुपैयाँ सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मानव सेवा आश्रम यूकेले साझा नेपाली समाजको समन्वयमा सोमबार गरेको ‘आमा’ सेमिनारमा गैरआवासीय नेपाली संघका युरोप उपसंयोजक सापकोटाले आफ्नी दिवंगत बहिनीको सम्झनामा ५ लाख दिने घोषणा गरेका हुन् ।
नटिङघममा आयोजित कार्यक्रमका प्रमुख अतिथि सापकोटाले मानव सेवा आश्रमको कामबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै आफ्नो सानो सहयोगले अरुलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे । अक्टोबरमा हुने निर्वाचनमा एनआरएनए केन्द्रिय सचिव पदका सशक्त दावेदार ठानिएका सापकोटाले विगतमा पनि बेलायत र नेपालमा कयौं च्यारिटी गरेका छन् ।
सेमिनारबाट आश्रमलाई करिब १३ लाख रुपैयाँ सहयोग जुटेको छ । साझा नेपाली समाजका सचिव एवं युवा ब्यवसायी सुरेश केसीले पनि ५ लाखको सहयोग प्रतिवद्धता गरेका छन् भने एक दर्जन जतिले मानव सेवा आश्रमको बेलायत खातामा मासिक १० पाउन्ड डाइरेक्ट डेविटको प्रतिवद्धता जनाएका छन् । मानव सेवा आश्रमले २०८२ सम्म सडक आश्रित जीवन मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ ।
साझा नेपाली समाजका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा भएको सेमिनारमा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, महासचिव सुशीला केसी, सचिव एवं प्रवक्ता सुमन बर्तोला र बेलायत शाखाका संयोजक सुनिल बाबु खड्काको विशेष उपस्थिति थियो ।
मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीको प्रस्तुतिले सहभागी निकै भावुक बनेका थिए ।
२०६९ सालमा हेटौडामा सडकमै जीवन गुजारा गरिरहेका १८ जना बेवारिसे, अशक्त आमाबुवालाई सरसफाइ र नुवाइ धुवाइ गरी एउटा अस्थायी आवासमा राखेर शुरु भएको अभियान अहिले देशभरि फैलिएको छ । हाल देशका १७ जिल्लामा आश्रम संचालनमा छन् । आश्रम र आश्रम अन्तर्गतका केन्द्रहरुबाट ६ हजार भन्दा बढी अशक्त बाबाआमाको उद्धार गरिएको छ । जसमध्ये २४ सयको आफ्नै परिवारसँग पुनर्मिलन भएको छ । आश्रमका विभिन्न शाखाहरुमा हाल झन्डै १ हजार ६ सय व्यक्तिको रेखदेख तथा स्याहार सुसार भइरहेको छ ।