लन्डन । बेलायतमा तमुधिं यूकेले सञ्चालन गरेको १४ औं नेपाली मेलाको एम्बासडर कप किरात राई यायोक्खा यूकेले आफनो पोल्टामा पारेको छ ।
सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतितर्फ सर्वोत्कृष्ट बन्दै किराया यूकेले ११ सय पाउन्ड नगदसहित एम्बासडर कप जित्न सफल भएको हो । लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार विभिन्न कार्यक्रमसहित भएको मेलामा किरायालाई तीन सय पाउन्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरिएको थियो ।
एम्बासडर कप तथा पुरस्कार किरात राई यायोक्खा यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले ग्रहण गरेका थिए । त्यस्तै, दोस्रो र तेस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज यूके र पासा पुचः गुथि यूकेले क्रमशः सात सय र पाँच सय पाउन्ड नगदसहितका पुरस्कार प्राप्त गरे ।
झाँकीतर्फ किरात राई यायोख्याले प्रथम, पासा पुचः गुथिले दोस्रो र घान्द्रुक समाज यूकेले तेस्रो स्थान हासिल गरे । नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम र किरात राई यायोक्खा दोस्रो भए । दुवै विधामा पहिलो हुनेले सात सय, दोस्रोले पाँच सय र तेस्रोले तीन सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गरे ।
मेलामा यसपटक सुरु गरिएको ५ सय पाउण्ड नगदसहितको प्रेसिडेन्ट च्वाइस पुरस्कार पासा पुचः गुथि यूकेले पायो।
निर्णायकको भूमिका साहित्यकार एकेन्द्र गुरुङको संयोजकत्वमा संगीतकार विक्रम गुरुङ, कलाकार माओत्से गुरुङ, ताराबहादुर गुरुङ, डा. प्रमोद कोई राई, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नृत्यकार बालकाशी गुरुङ र नायिका रजनी गुरुङले निर्वाह गरेका थिए ।
नेपाली दूतावास लन्डनको सहकार्यमा भएको मेलामा बेलायतस्थित विभिन्न दुई दर्जन बढी नेपाली संघसंस्था र समुदायका तर्फबाट आफ्ना संस्कृति, कला, परम्परा झल्काउने आकर्षक सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । मेलास्थलमा राखिएका नेपाली खाना, पोशाक, गरगहनासहित विभिन्न व्यापार र च्यारिटीका तीन दर्जन बढी स्टलमा पनि दर्शक रमाएका थिए । कार पार्किङको व्यवस्थापन तमुधिं यूके लन्डन इकाईले सम्हालेको थियो ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए । सो अवसरमा सांसद खमबहाहदुर गर्बुजा, बेलायतस्थित बंगलादेश र श्रीलंकाका कूटनीतिक प्रतिनिधि, बेलायतका विभिन्न काउन्टी तथा बरोका मेयर तथा काउन्सिलरहरु, विभिन्न बेलायती च्यारिटी तथा समुदायका प्रतिनिधिलगायतका विशिष्ट अतिथिको सहभागिता रह्यो ।
कार्यक्रम सञ्चालन भविका लोप्चान र शिभानी गुरूङले गरेका थिए ।