लन्डन । बेलायतमा तमुधिं यूकेको आयोजनामा नेपाली मेलाको १४ औं संस्करण भव्यताका साथ सम्पन्न भएको छ । लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार विभिन्नकार्यक्रमसहित मेलामा मेला सम्पन्न भएको हो ।
‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित मेलामा कोरोना भाइरस महामारीपछि पहिलोपटक ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा करिब सात हजार दर्शक सहभागी थिए ।
नेपाली दूतावास लन्डनको सहकार्यमा भएको मेलामा बेलायतस्थित विभिन्न दुई दर्जन बढी नेपाली संघसंस्था र समुदायका तर्फबाट आफ्ना संस्कृति, कला, परम्परा झल्काउने आकर्षक सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । मेलास्थलमा राखिएका नेपाली खाना, पोशाक, गरगहनासहित विभिन्न व्यापार र च्यारिटीका तीन दर्जन बढी स्टलमा पनि दर्शक रमाएका थिए । कार पार्किङको व्यवस्थापन तमुधिं यूके लन्डन इकाईले सम्हालेको थियो।
तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए । सो अवसरमा सांसद खमबहाहदुर गर्बुजा, बेलायतस्थित बंगलादेश र श्रीलंकाका कूटनीतिक प्रतिनिधि, बेलायतका विभिन्न काउन्टी तथा बरोका मेयर तथा काउन्सिलरहरु, विभिन्न बेलायती च्यारिटी तथा समुदायका प्रतिनिधिलगायतका विशिष्ट अतिथिको सहभागिता रह्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान, संस्कृति र परम्परालाई बिर्सिन सक्दैनन भन्ने सन्देश मेलाले दिएको बताए । नेपाली संस्कृति, कला, भेषभूषा र परम्परालाई प्रवद्र्धन गर्दै आपसी सद्भाव र भाइचारा बढाउनसमेत मेलाले योगदान गरेकोमा उनले प्रशंसा गरे ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित सबै नेपालीबीचको सद्भाव बढाउने र नयाँ पुस्तालाई नेपाली संस्कृतिसंग नजिक गराउने मेलाको प्रमुख लक्ष्य रहेको उल्लेख गरे ।
मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतितर्फ सर्वोत्कृष्ट बन्दै किरात राई यायोख्या यूकेले ११ सय पाउन्ड नगदसहित एम्बासडर कप जित्यो । विजेता संस्थालाई तीन सय पाउण्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरियो । त्यस्तै, दोस्रो र तेस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज यूके र पासा पुचः गुथि यूकेले क्रमशः सात सय र पाँच सय पाउण्ड नगदसहितका पुरस्कार प्राप्त गरे ।
झाँकीतर्फ किरात राई यायोख्याले प्रथम, पासा पुचः गुथिले दोस्रो र घान्द्रुक समाज यूकेले तेस्रो स्थान हासिल गरे । नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम र किरात राई यायोख्खा दोस्रो भए। दुवै विधामा पहिलो हुनेले सात सय, दोस्रोले पाँच सय र तेस्रोले तीन सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गरे।
मेलामा यसपटक शुरु गरिएको दुई सय पाउण्ड नगदसहितको प्रेसिडेन्ट च्वाइस पुरस्कार पासा पुचः गुथि यूकेले पायो ।
निर्णायकको भूमिका साहित्यकार एकेन्द्र गुरुङको संयोजकत्वमा संगीतकार विक्रम गुरुङ, कलाकार माओत्से गुरुङ, ताराबहादुर गुरुङ, चन्द्र कोयी राई, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नृत्यकार बालकाशी गुरुङ र नायिका रजनी गुरुङले निर्वाह गरेका थिए ।
मेलामा सगरमाथा आरोहण गर्ने किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए भने मेला संयोजक उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए ।