लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) को नयाँ नेतृत्व चयनका लागि आगामी सेप्टेम्बर २४ तारिख आइतबार अधिवेशन हुने भएको छ ।
प्लमस्टिडमा शनिबार सम्पन्न कार्यसमिति तथा सल्लाहकारहरुको संयुक्त बैठकले अधिवेशनको निर्णय गरेको हो । अधिवेशनबाट आगामी दुई वर्ष हांक्ने नयाँ कार्यसमिति निर्वाचित हुनेछ । संस्थामा यसअघि तीन वर्षे कार्यकाल रहने गरेकोमा त्यसलाई २ वर्षमा संशोधन गरी वर्तमान कार्यसमिति निर्वाचित भएको दुई वर्षमै नयाँ अधिवेशन गर्न लागिएको हो ।
यसअघि वर्तमान अध्यक्ष जीत रानाभाट स्थानीय रोयल ग्रीनवीच बरोमा काउन्सिलर एवम् उपमेयर निर्वाचित भएपछि उपाध्यक्ष पुण्य रेग्मीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको थियो । बैठकले नयाँ अधिवेशनमार्फत चयनका लागि सल्लाहकार एलएन पाण्डेको संयोजकत्वमा कुमार श्रेष्ठ र सहदेव गिरी सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ।
त्यस्तै, सल्लाहकार अर्कराज तिम्सिना संयोजक तथा माधवलाल श्रेष्ठ र शर्मिला हिराचन थकाली सदस्य रहेको विधान समिति गठन गरिएको छ ।
बैठकले नयाँ सदस्यता तथा नवीकरणको आवेदन दिने म्याद सेप्टेम्बर १५ साँझ ५ बजेसम्म राख्ने र कार्यसमितिले स्वीकृत सदस्यहरुको अन्तिम नामावली सेप्टेम्बर १७ सम्ममा निर्वाचन समितिलाई बुझाउन म्याद तोक्ने निर्णय गरेको छ । संस्थाले आउँदै गरेका हिन्दू नेपालीका पर्व दशैं र तिहारको अवसरमा एक शुभकामना कार्यक्रम गर्ने र सो कार्यक्रम संयोजनको जिम्मा सल्लाहकार ह्यारी गुरुङलाई लगाउने निर्णय पनि गरेको छ ।
अध्यक्ष जीत रानाभाटको अध्यक्षता, उपाध्यक्ष पुण्य रेग्मीले सञ्चालन गरेको बैठकमा सल्लाहकारहरु मोहन गुरुङ, एलएन पाण्डे, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठसहित सल्लाहकार एवम् कार्यसमिति पदाधिकारीहरुको सहभागिता थियो ।