लन्डन । बेलायत भ्रमणमा रहेकी प्रतिनिधिसभाकी सांसद सोविता गौतमले गरिन् वेल्समा निर्माणाधिन 'नेपाली भिलेज युके' को अवलोकन गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेपालकी सांसद गौतमले आफ्नो व्यस्त समयका बाबजुद सोमबार नेपाली भिलेज युकेको अवलोकन भ्रमण गरेकी हुन् । सांसद गौतमलाई नेपाली भिलेज युकेका प्रमुख मेजर खुशीमान गुरुङ एमभिओ, योजना अपरेसन डाइरेक्टर क्याप्टेन सूर्यप्रकाश गुरुङ, प्लानिङ डाइरेक्टर कोलिन प्रिस, प्रवक्ता बिक्रम भट्टाराई, श्रीमती भट्टराई, डाइरेक्टर लोकेन्द्र श्रेष्ठ, डाइरेक्टर डम्बर सुनुवार अनि नेपाल धम्पुस भगिनी सम्बन्ध समितिका ब्रेकनका अध्यक्ष पूर्वमेयर डेविड मेडरिथ लगायत शेयरहोल्डरहरुको समुपस्थितिमा पुष्पगुच्छा दिएर स्वागत गरिएको थियो । लगभग ४५ मिनटको परियोजनाको विस्तृत जानकारी दिँदै परियोजना प्रमुख मेजर गुरुङले नेपालबाट सरकारी स्तरको यस्तो भ्रमणले परियोजनामा संचालकहरुलाई अत्यन्त उर्जा थप्ने बताएका थिए ।
सोही अवसरमा सांसद गौतमले यो परियोजनाका बारेमा धेरैले कुरा गरेको र उत्साहित भएको हुनाले आफू बेलायतमै हुँदा एकपटक पुगेर बुझ्न मन लागेको र यहाँ परियोजनास्थलमा नै आएपछि र योजना प्रमुखको विस्तृत जानकारी सुन्दा र हेर्दा अत्यन्त सन्तुष्ट भएको बताइन् । साथसाथै उनले आजको ग्लोबलहोमको अवधारणा आइसकेको अवस्थामा यसरी नेपालीहरुले मातृभूमिबाट टाढा रहेर पनि मातृभूमिको शीर ठाडो हुने काम गरेकोमा आफु अत्यन्त कृतज्ञ भएको बताइन् र तत्पश्चात् परियोजनाका निमित्त खरिद गरिएको १९२ रोपनी र चार बेडरूम सहितको घरमा निकट भविष्यमा कहाँ के कस्ता संरचनाहरु बन्दैछन् भनेर विस्तृत विवरणहरुसहित सांसद गौतमलाई देखाइएको थियो ।
नेपाली भिलेज युकेको कार्यक्रमपछि मेजर गुरुङले सांसद सहितको परिवारलाई ब्रेकन टाउनकी मेयर मिशेला डेविससँग उनकै कार्यकक्ष गिल्डहलमा भेटघाट र छोटो परिचयात्मक कार्यक्रम सम्पन्न भयो । उक्त अवसरमा ब्रेकन टाउनकी मेयर र सांसद गौतमबीच विभिन्न विषयहरुमा कुराकानी आदान-प्रदान गर्दै टाउन हलको आगन्तुक पुस्तिकामा अतिथिको रुपमा हस्ताक्षर गरेकी थिइन् । सांसद गौतमले अपराह्नमा वेल्सका सेनेड मेम्बर जेम्स ईवान्ससँग मेजर गुरुङ र श्रीमती मन्जु गुरुङ दम्पतीको निवास साउथकोटमा अनौपचारिक भेटघाट गरिन् । उक्त अवसरमा दुवै जनाले नेपाल र बेलायतका बारेमा विभिन्न क्षेत्रका बारेमा कुराकानी गरेका थिए भने उनीहरु मुख्यगरी नेपाली भिलेज युकेका बारेमा नै केन्द्रित थिए ।
मेजर श्रीमती गुरुङले तयार गरेको स्वादिष्ट नेपाली खानाका साथ नेपाली भिलेज युकेका अन्य परियोजना डाइरेक्टरहरु र शेयरहोल्डर तथा रास्वपा बेलायत सहसचिव यज्ञ कार्कीका सपरिवार, कोषाध्यक्ष बाबुराम नेउपाने, शान्तबहादुर गुरुङ, पंकज अर्याल र उनका परिवार, एनआरएनए युके आईसीसी सदस्य तथा मिडल्याण्ड नेपाली समुदायका सहयोगी व्यक्तित्व विष्णु चालीसे, गल्कोट समाज बेलायतका उपाध्यक्ष डिलाराम गौतमलगायतको उपस्थित आफैमा ऐतिहासिक बनेको कार्यक्रमका अन्तमा धम्पुस ब्रेकन ट्विनिङका अध्यक्ष तथा ब्रेकन टाउनका पूर्वमेयर डेविडले बताए । नेपाली भिलेज युके यतिबेला आफ्नो परियोजनाको पूर्व तय गरिएको योजनाअनुसार नै खरिद गरिएको घरलाई रेनोभेट गर्ने र यथासक्दो छिटो होलिडे होमको लागि तयारीमा धमाधम लागेको छ भने उता स्थानीय काउन्सिलमा प्लानिङको लागि कामहरु भइरहेको छ । यस्तै दोस्रो चरणको शेयर बिक्रीका लागी गएको अप्रिल १४ देखि खुला गरिएको र धमाधम नयाँ शेयरहोल्डरहरु जोडीरहेका छन् । यही दोस्रो चरणको शेयर बिक्रीकै क्रममा नेपाली भिलेज युकेले नेपालीहरुका लागि बेलायतकै कुम्भ मेलाका रुपमा लिइने “नेपाली मेला २०२३” केम्पटन पार्कमा आफ्नै स्टल राखेर अझै धेरैभन्दा धेरै नेपालीहरु समक्ष पुग्ने बताइएको छ । नेपाली भिलेज युकेको शेयर आगामी अक्टुबरसम्म प्रतिशेयर पाँच हजार पाउन्ड नै रहने र यदि कोही पनि ईच्छुक महानुभावहरु छन् भने एकैपटक तोकिएको रकम जम्मा गर्न सकिएन भने किस्तामा आउने अक्टूबरसम्ममा पूरा हुने गरेर पनि जम्मा गर्न सकिने परियोजनाले जनाएको छ ।