लन्डन । तमुधिँ युकेको आयोजनामा आगामी आइतबार हुने १४औं नेपाली मेलाको तयारी पूरा भएको छ ।
आयोजकले आइतबार पत्रकार सम्मेलनमा गरी मेलाको तयारी पूरा भएको जनाएको छ । मेला संयोजक परशु गुरुङले नेपाली भाषा, भेषभूषा, धर्म, संस्कृति, परम्परा र रीतिरिवाज जीवन्त राख्ने उद्देश्यले तमुधिँ युकेले बेलायती भूमिमा स्थापित बिभिन्न संघसंस्था समुदायहरुहरुको सहकार्य हौसला, साथ र सहयोगले नेपाली मेला भव्य बन्दै आएको बताए।
मेलाले नेपाली समुदाय, संघ संस्थाहरु बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । साथै अर्कोतिर स्थानीयवासी समक्ष हाम्रो नेपाली कला र संस्कृति प्रस्तुत गर्ने एक थलो बनेको छ ।
उनी भन्छन्, ‘नयाँ पुस्ताहरुलाई नेपाली भाषा, कला र संस्कृतिलाई हस्तान्तरण गराउने एक माध्यम पनि हो र बिस्तारै आफ्नो परम्परालाई जीबन्त राख्न सकोस भन्ने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’ युवाहरुलाई प्रस्तुतिका लागि समय व्यवस्थापन गरिएको र पुरस्कार तथा मेडलको समेत व्यवस्था गरिएको जनाएको छ ।
मेलाको विशेष आकर्षण भनेको झाँकी हो । झाँकीमा सहभागी हुने संस्थाहरुका लागि नगद पुरस्कारको व्यवस्था गरेको तमु धी यूकेका अध्यक्ष हरि गुरुङले बताए । मेलामा ३२ संघसंस्था र समुदायको झाँकीको सहभागिता रहने छन् । मेलाको १० हजार मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
२७ अगस्टमा हुने मेलामा रेष्टुरेण्ट, उद्यमी र ब्यापारीहरु गरी ३७ वटा स्टलहरु दर्ता भइसकेका छन् ।
आयोजकले युवानानीहरुको आफ्नो प्रस्तुति दिनको लागि केहि समय छुट्ट्याइदिएको जनाएको छ ।