लन्डन । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले पहिलो किरात राजा यलम्बरको स्मृति दिवस शनिबार भव्यरुपमा मनाइयो ।
किरात हाउस गेमबल्स लेन, रिपले, वकिङमा भएको कार्यक्रम बेलायतका लागि नेपाली डेपुटी चिफ अफ मिसन रोसन खनालको प्रमुख आतिथ्य रहेको थियो । साथै नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पालगायत बेलायतका विभिन्न संघसंस्थाका अध्यक्षहरु, किरात राई यायोक्खा नेपालका पूर्व अध्यक्ष डा. सुमाया राई, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कल्पना राई, सम्रक्षक सदश्यहरु, सल्लाहकारहरु, बोर्ड अफ डाइरेक्टरहरु, प्रसिद्ध गायक धीरज राई, प्राज्ञ भीषण मुकारुङ, गायक निश्चल राई, गायक जानुका राई लगायत व्यक्तिको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष मेजर योगेस कोयी राईको अध्यक्षता रहेको कार्यक्रममा धनुषवाण, भलिबल, छेलो प्रतियोगिता भयो भने भाग्यदया चिठ्ठा, शिक्षा, खेल्कुद तथा ब्यवसायमा उत्कृष्ट परिणाम प्राप्त व्यक्तिहरुलाई सम्मान, वार्षिक मुखपत्र अनावरण, सदस्यता कार्ड नवीकरण तथा वितरण, यलम्बर स्मृति सांस्कृतिक साँझ भयो ।
संस्थाले पहिलो किरात राजा यलम्बरको सम्झनामा गरेको पहिलो यलम्बर भलिबल कप कार्यक्रमको प्रमुख आकर्षण थियो ।
बेलायतका विभिन्न शहरहरुबाट १५ टिमले भाग लिएको प्रतियोगितामा १६ सय पाउन्ड नगद पुरस्कारसहित केन्ट भलिबल क्लबले उपाधि हात पारेको छ । ग्रिनविच भलिबल परिवारले १ हजार पाउन्ड नगदसहित दोस्रो हुन सफल भयो ।
महिलातर्फको सुम्निमा भलिबल कपको उपाधि विनचेस्टर भलिबल क्लबले १ हजार पाउन्ड नगदसहित जितेको छ भने दोस्रो स्थानमा मोना भलिबल क्लबले ६ सय पाउन्ड नगद जित्न सफल भएको छ ।
कार्यक्रममा गत साल स्थापित यलम्बर धनुषवान च्याम्पियनसीप पनि अर्को आकर्षण थियो । दोस्रो यलम्बर धनुषवान च्याम्पीयन रबिन पुनले हात पारेका छन् भने पुरुषतर्फ बिसी राई, आशिष लिम्बु र अम्बर राईले क्रमश पहिलो, दोस्रो र तेस्रो पुरस्कार जितेका छन् । महिलातर्फ सुमित्रा राई प्रथम भएकी छिन् भने पुनम पुन र चन्द्रावती राई दोस्रो र तेस्रो भए । युथ क्याटेगोरीमा स्पन्दन राई, स्तम्भ राई र रिचा राई क्रमैसँग पहिलो, दोस्रो र तेस्रो बन्न सफल भए ।
कार्यक्रममा संस्थाको वार्षिक मुखपत्र सुम्निमा पारुहाङको विमोचन, किरात राई हाउस खरिदको नवौँ वार्षिक उत्सव मनाइनुका साथै साल्पा सिलीचुङ संरक्षण सहयोग अभियानको उद्घाटन पनि गरिएको थियो ।
कार्यक्रममा प्राज्ञ भीषण मुकारुङ, धिरज राई, निश्चल राई लगायत बेलायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै बेलायतमा डिग्री हासिल गर्ने नानीहरुलाई सामूहिक ग्राजुयसन सम्मान तथा साहित्य, कला खेलकुदमा बेलायतबाट विशेष योगदान पुर्याउनु हुने डा। सुमाया राई, कवि नरेश काङमाङ राई, गीतकार सन्जीव पारदर्शी राई लगायतका विशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका सल्लाहकार मास्टर राष्ट्र राईको प्रमुख संयोजकत्व र अतिथि संयोजक कर्मा पहाडी शेर्पाको सहयोगमा सम्पन्न यलम्बरहाङ कप साथै उपाध्यक्ष मेजर भूपजित राईको संयोजकत्वमा सम्पन्न भएको थियो । पहिलो किराती राजा यलम्बरप्रति समर्पित सेवा सेवारो हौं राजा यलम्बरहाङ गीत लगायत विविध किराती सांस्कृतिक गीतहरुमा मनोरन्जनात्मक कार्यक्रम भयो ।
संस्थाका अध्यक्ष मेजर योगेश राईले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने तथा उपस्थिति सबै सहभागी सबैलाई धन्यवाद दिए ।