लण्डन । नेपाली नागरिकताको माग गर्दै आएका युकेवासी गोर्खालीहरुको BGNCCC UK अभियानको नाम परिवर्तन गरी CNCBG बनाइएको छ ।
सन् २०१६ मा थर्क रानाको अध्यक्षतामा BGNCCSC-UK (British Gurkhas Nepali Citizenship Continuation Struggle Committee UK) गठन गरिएकोमा समय परिस्थितिअनुसार नाम परिवर्तन गरिएको जनाइएको छ ।
गोर्खा भर्तिको कारण नेपाल सरकारको सहमतिमा बेलायतले गोर्खा र निजको सन्ततिहरुलाई आवासीय सुविधा प्रदान गरेपछि गोर्खाहरुले बेलायतमा रहँदा बाध्यतावश बेलायतको अंगिकृत नागरिकता लिनुपर्ने अवस्था छ ।
नेपालको नगरिकता ऐन २०६३ दफा १०(१) अनुसार कुनै पनि नेपाली नागरिकले अर्को कुनै देशको नागरिकता लिएमा उसको नेपाली नागरिकता नरहने प्रावधाने छ । गोर्खाहरु सन् १९४७ सालको बेलायत नेपाल र इन्डियाबीच भएको त्रिपक्षीय सन्धिअन्तर्गत नेपाल र बेलायत सरकारको बन्दोबस्तमा बेलायती सेनामा सेवा गरेका हुन् ।
नेपालको नागरिकता ऐनमा गोर्खाको बारेमा सम्बोधन नभएको गुनासो छ । मौजुदा नागरिकता ऐनले गोर्खाली र निजको सन्ततिहरुको निम्ति समस्या पर्ने देखिएको हुँदा सरकारले नै सन्धि सम्झौता गरेर पठाएका गोर्खा र गोर्खाका सन्ततिहरुको बंशजको नेपाली नागरिकता कायमै राख्न पाउनुपर्छ भन्ने माग हामी गोर्खाहरुले नै बुलन्द गर्दै जानुपर्ने देखिएकोले नाम परिवर्तन गरिएको जनाइएको छ ।
सिएन्सिबिजी इङ्ल्यान्डमा गठित एउटा गैरनाफामूलक, गैरराजनीतिक, गैरधार्मिक तथा समाजिक संगठन हो, जसको मूलभूत उद्देश्य भनेको माथि उल्लेख गरिएजस्तै दुवै देशको सहमतिमा बेलायतमा अस्थायीरुपमा बसोबास गर्ने गोर्खाली र उनका शाखा सन्ततिका वंशजगत नेपाली नगरिकता (अधिकार) सुरक्षित राख्ने छ ।