लन्डन । जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले नेपालले आगामी दशकमा विश्वगुरु बन्ने दीर्घकालीन सोच राख्नुपर्ने बताएका छन् । दक्षिणपूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविर समापन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘नेपाल विगतमा पनि विश्व गुरु थियो । बुद्धको ज्ञान र शिवको ध्यानलाई लिएर अगाडि बढ्यौं भने अध्यात्मको माध्यमबाट नेपाल विश्व गुरु बन्न सक्छ ।’ उनले बेलायतमा क्रियाशील नेपाली संघसंस्थाहरुलाई ज्ञानको खोजी, राम्रो अभ्यासहरुको सिको र अध्यात्मको प्रवद्र्धन गर्न आग्रह समेत गरे ।
जीवन विज्ञानका सहसंस्थापक तथा जीवन विकास विशेषज्ञ रमेश नेपालले आफूलाई मन नपर्ने व्यवहार अरु कसैप्रति पनि नगर्न सुझाव दिए । उनले भने, ‘यो एउटा सूत्रले मात्रै तपाईंको जीवनमा रुपान्तरण ल्याउन सक्छ । तपाईं सुखी, शान्त र स्वस्थ हुनु भयो भने तपाईंको घर, परिवार र समाजमै सकारात्मक असर पर्छ ।’ उनले काठमाडौँ आएर लय विज्ञ, बोध विज्ञान, ऐश्वर्य विज्ञान प्रशिक्षण लिन पनि सबैलाई आग्रह गरे ।
सो अवसरमा युरोप र बेलायतबाट सहभागी प्रशिक्षार्थीहरुले आफ्ना अनुभव सुनाएका थिए । जीवन विज्ञान यूकेका ट्रष्टी प्रेम खड्काले संस्थाका गतिविधिहरुबारे जानकारी गराए ।
युरोप र बेलायतबाट झन्डै एक सय जना प्रशिक्षार्थीले भाग लिएको शिविर एक सातासम्म चलेको थियो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले यसअघि उक्त शिविर उद्घाटन गरेको जीवन विज्ञान यूकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले जनाइन् ।
प्रशिक्षार्थी नारायण अधिकारीले कोभिड पछि संसारभरि मानसिक र शारीरिक स्वास्थ्य समस्या बढ्दै गएको बेला यो प्रशिक्षण निकै फाइदाजनक भएको बताए ।
गुरुद्वय एलपी भानु शर्मा तथा रमेश नेपालले विभिन्न नेपाली संस्थाहरुको आयोजनामा योग तथा ध्यानसम्बन्धी प्रशिक्षण तथा प्रवचन दिएका थिए ।