पोखरा । तपाई हामीलाई थाहा छ, विगतका युद्धभूमिमा कैयौं वीरगोर्खाली सहिद भए । विश्वयुद्धदेखि विभिन्न देशका युद्धभूमिमा ज्यानको बाजी थापेर लडेकामध्ये ६० हजारभन्दा बढी वीरगोर्खालीको ज्यान गएको तथ्यांक छ । वीरताका साथ लडेका उनै वीरगोर्खालीको स्मृतिमा नेपालमा गोर्खा स्मारक निर्माण थालिएको वर्षौ भयो । तर रकम अभावले अलपत्र छ ।
कास्की र स्याङ्जा सीमाक्षेत्र फेदीखोलास्थित साल्मेडाँडा गोर्खा स्मारक बन्ने भएपछि निकै चर्चित बनेको थियो । गोर्खा स्मारकको मेघा प्रोजेक्टअन्तर्गत विगतमा निर्माण कार्य धमाधम चलिरहे पनि अहिले रकम अभावमा अलपत्र परेको हो । यो ५ अर्बको गुरुयोजना हो ।
नेपाल सरकारले निर्माणमा कार्यमा हस्तक्षेप गरेपछि अलपत्र परेको बताउँछन् गोर्खा भूपू सैनिक संघ (गेसो) अध्यक्ष पदमबहादुर गुरुङ । उनका अनुसार आजभन्दा १० वर्ष अघिदेखि निर्माण थालिएकोमा पछिल्लो समय सरकारले हस्तक्षेप गरेपछि अलपत्र परेको हो । वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल डिजाइनको यो परियोजनामा बेलायत सरकारको प्रलोभनमा नेपाल सरकार परेको गेसो अध्यक्ष गुरुङको आरोप छ । कसले माग गरेर यसमा सरकारले लगानी गरेको हो भन्नेबारे बुझी नसक्नु रहस्य रहेको उनले स्थलगत भ्रमणमा पत्रकारसँग बताए ।
३० रोपनीमा विभिन्न ५ चरणमा गरी निर्माण हुने सम्पूर्ण परियोजनामा भने सबै गरेर कुल २० अर्ब लागत अनुमान छ । तर हालसम्म करिब १५ करोडमात्र लगानी भएको छ । त्योमध्ये सरकारको ८ र गेसोको ७ करोड हो ।
खासमा गोर्खा स्मारकको निकै महत्व रहेको गेसोको भनाइ छ । गोर्खाहरूको मोक्षको लागि निर्मित गोर्खा स्मारक वीरगोर्खालीको योगदानको स्मरणमात्र नभई भोलिका दिनमा यो प्रमुख पर्यटकीय क्षेत्रको सम्भावनाको केन्द्र हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत गोर्खा समाधिसहित गोर्खा म्यूजियम, गोर्खा टावर, जातीय नमुना घर र छुकछुके रेल गरी ५ खण्डमा विभाजन गरिएको छ । गोर्खा समाधिका लागि मात्रै आवश्यक थप संरचना पूरा गर्न झण्डै १ करोड आवश्यक पर्ने जनाइएको छ ।
८० हजार बढीको सम्झनामा गोरखा समाधि निर्माण गर्ने योजनामा पहिलो चरणकै काम अलपत्र परेको छ । दोस्रो चरणमा बहुलजातीय संग्रहालय निर्माणको योजना बुनेको गेसोमा डिजाइनमा तेस्रो चरणमा बहुलजातीय साँस्कृतिकग्राम बनाउने भनिएको छ । चौंथो चरणमा नेपालकै सबैभन्दा अग्लो गोरखा टावर निर्माण गरी विश्वका पर्यटकको ध्यान तान्ने लक्ष्य छ । पाँचौं चरणमा सुस्त गतिमा चल्ने पाँच डिब्बाको पहाडी रेल सञ्चालन गर्ने योजना भए पनि कार्यान्वयन हुने सम्भावना छैन ।
यसरी जन्मियो योजना
सन् १८१५ देखि हालसम्म ब्रिटिस नेपाल सम्बन्धको दुई शताब्दीपछि गोर्खाका नाउँबाट नेपाली युवा विश्वका विभिन्न युद्धभूमिहरूमा गएर युद्ध लडेका छन् । प्रथम विश्वयुद्ध (सन् १९१४–१८) र द्वितीय विश्वयुद्ध (सन् १९३९–४५) र सयौं क्षेत्रीय युद्धहरूमा गोर्खाहरू भाग लिए । दुवै विश्वयुद्धमा गोर्खाहरू अफ्रिकन तथा युरोपियन युद्धमा समेत सामेल भएका थिए । ब्रिटिस अभिलेखअनुसार हालसम्म ६० हजारभन्दा बढी गोर्खाहरुले आफ्नो जीवनको आहुति दिएका छन् । त्यस्तै, विश्वका विभिन्न युद्धमा मारिएका, अंगभंग तथा घाइतेहरुको स्मरणमा उनीहरुको चिहान विभिन्न देशहरुमा बनाउने गरिन्छ तर गोर्खाहरूको नामबाट छुट्टै चिहान कहीं पनि छैन । ब्रिटिस कमनवेल्थ वार कमिसनका अनुसार नेपाली युवा वा गोर्खाहरू भनेर कुनै छुट्टै चिहान विश्वमा कहीं पनि छैन ।
गोर्खाहरूको नाम छ तर उनीहरूको नाम इन्डियन सेनाभित्र पारेर लेखिएको छ । त्यसैले साल्मेडाँडामा निर्माणधीन गोर्खा समाधि युद्धमा मारिएका गोर्खाहरूको मात्र हो । ब्रिटिस उपनिवेशको समयमा नेपाल भूमि यातायात र सञ्चारमाध्यमबाट उपेक्षित थियो । हजारौं गोर्खाहरू युद्धमा मारिंदा धेरैजसोको मरुवा चिठ्ठी नेपालमा पठाउँदा पनि कतिको नाम नमिलेर कतिको ठेगाना प्रष्ट नभएकाले उनीहरू लडाइँमा मारिए अथवा घाइते के भए थाहा हुन सकेन । भर्ति हुँदा अकै नाम लेखिएको वा नाम नमिलेकोले काजक्रिया हुन सकेन । धार्मिक संस्कार अनुसार उनीहरू स्वर्ग जान नसकेको र काँचो वायुको रूपमा विश्वका विभिन्न युद्धभूमिहरूमा उनीहरूको प्रेतआत्मा भौंतारीरहेको धार्मिक विश्वास गरिन्छ । यसैले सबै गोर्खाहरूको मोक्षको लागि गोर्खा समाधि निर्माण २०७० सालदेखि सुरुआत भएको हो ।
गेसोका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङ र तत्कालीन महासचिव डा. चन्द्रबहादुर गुरुङको संयुक्त पहलमा सो वर्ष साल्मेडाँडामा दिवंगत गोर्खाहरुको स्मृतिमा संयुक्त काजक्रिया भएको थियो । गोर्खा भर्तिमा समावेश भएका २१ नेपालका जातिको मोक्षको लागि आ–आफ्नो रीतिअनुरुप सामूहिक काजक्रिया गरिएको थियो । उक्त दिन हास्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गोर्खा समाधि शिलान्यास गरेका थिए ।
संरचना कति बने ?
गोर्खा समाधिस्थलसहित भिजिटर अफिस, अन्तर्राष्ट्रियस्तरको ट्वाइलेट, एम्पिथियटर, पानीको फोहोरा लागि आवश्यक संरचना निर्माण भएका छन् । तिनीहरुको फिनिसिङ मात्र छ भने गोर्खा स्मारक ट्रष्टको कार्यालय बनाउन बाँकी रहेको प्राविधिक सल्लाहकार इन्जिनियर किसानसिंह गुरुङले जानकारी दिए । ट्रस्टको कार्यालय भवन निर्माणमा अनुमानित लागत १ करोड १४ लाख रहेकोमा प्रदेश सरकारले २० लाख दिएको छ । समाधि निर्माणपछि अर्को चरणको संरचना निर्माण हुँदै जाने उनको भनाइ छ । यस्तै यहाँ आवश्यक पानी लिफ्टिङ गरी तानिएको छ ।
पर्यटकीय महत्व
गोर्खा समाधिको आफैमा महत्व भइकन पनि यो देशीविदेशीको लागि पर्यटकीय महत्वको केन्द्र बन्न सक्ने सम्भावना छ । पोखराको दक्षिणी भेगमा पर्ने उक्त क्षेत्रबाट आगामी दिनमा रेलमा शयर गर्दै धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृंखला एवं फेवातालसहित पोखरा बजारको दृष्यावलोकन गर्न सकिन्छ । पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ अवधि लम्ब्याउन सकिन्छ । यहाँ पुगेपछि पोखरा तल पारेर हेर्न सकिने भएकोले सहर बजारको कोलहलबाट केही क्षण भए पनि मुक्त हुँद शान्त वातावरणमा रमाउन सकिन्छ ।
यहाँ ३ सय जना क्षमताको जातीय अनुसन्धान केन्द्र भवन, अत्याधुनिक टावर, टेष्टुँरासमेत निर्माण गरिने योजना छ । सबै संरचना पूरा भएसँगै यसको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन हुने भएकोले प्रदेश सरकारले पनि यसमा चासो देखाएको छ । वीर नेपाली गोर्खालीकै कारण नेपालको शिर उच्च रहेको हुँदा यो योजनाले सार्थकताउन्मुख हुनु सबैको गौरवको विषय हो ।