लन्डन । मिडबे संगठनहरु पहिलो पल्ट सामाजिक तथा आर्थिक परिवर्तनका लागि एकजुट भएका छन् । सो सम्बन्धमा सोमबार नागरिक बडापत्रमा उनीहरुले संयुक्त हस्ताक्षर गरेका छन् ।
जसमा मिडवे काउन्सिल, मिडवेका ३ विश्वविद्यालयहरु, मिड–केन्ट कलेज, दुईवटा एनएचएस संगठनहरु र च्याथम हिस्टोरिक डकयार्डले विभिन्न अवसरहरु सिर्जना गर्दै व्यवसाय, अर्थ, शिक्षा, सिप, स्वास्थ्य, स्थायित्व, वातावरण तथा कला र संस्कृतिमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् । सबै संगठनहरुले मिलेर काम गर्दा यसको प्रत्यक्ष फाइदा मिडवेवासीले प्रत्यक्षरुपमा लिन सक्ने छन् ।
मिडवेका मेयर नीना गुरुङको पनि उपस्थितिमा भएको कार्यक्रममा केन्टका उपचान्सलर प्राध्यापक करेन कक्सले गएको २० वर्षदेखि मिडवेमा सँगै काम गर्न पाउँदा गर्व लागेको बताए । उनले स्थानीय अर्थतन्त्रको विकासमा मानिसलाई दक्षता प्रदान गर्न र सिपयुक्त बनाउन सकेको बताए ।
मिडवे काउन्सिलका क्लर भिन्स म्यापलले भने, ‘हामी प्राथमिकतासँगै काम गर्नु, सुन्नु र जीवन परिवर्तन गर्ने कार्य गर्नु हो ।’
मिडकेन्ट कलेजका प्रिन्सिपल तथा प्रमुख कार्यकारी तथा मिडवे प्लस बोर्ड अध्यक्ष साइमन कुकले कुनै पनि संस्थाले एक्लैले केही गर्न नसक्ने र साझेदारीबाट धेरै काम गर्न सकिने बताए । उनले भने, हामीले जटिल चुनौतीहरुको रचनात्मक र दीर्घकालीन समाधानहरु खोज्न सँगै काम गर्न आवश्यक छ । यसको लागि कडा मेहनत चाहिन्छ ।’ समुदायको हितका लागि आफूहरुले गर्न सक्ने काम गर्ने प्रतिबद्धता पुष्टी गर्न यो बडापत्र महत्वपूर्ण पहिलो चरण हो भने ।
मिडवे एण्ड स्वाले हेल्थ एण्ड केयर पार्टनरसिपका अध्यक्ष जो पाल्मरले नागरिक बडापत्रलाई समर्थन गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यो परिवर्तनको लागि एक शक्तिशाली उपकरण हो भने ।