लन्डन । तमु समाज युकेको आयोजनामा गृष्मकालीन भ्रमण सम्पन्न भएको छ । समाजका सदस्यहरु तथा परिवारका लागि इस्ले अफ वेटको प्राकृतिक सुन्दरता तथा रमणीय समुद्रिक तट अवलोकन गर्ने उद्देश्यले शनिबार एकदिने गृष्मकालीन बस (कोच) भ्रमण गरिएको हो ।
बरहाम पार्क वेम्बलीबाट बसमा झन्डै २ घन्टाको यात्रा र एक घन्टा पानीजहाज (फेरी) को यात्रापछि पुगिने बेलायतको दक्षिणी तटको सुन्दर टापुको भ्रमण भएको हो । आइटिनेरी ४ भागमा विभाजित गरी घुम्ने, दृष्य अवलोकन र मनोरञ्जन गर्ने योजना तय गरिएकोमा पहिलो बस तथा पानीजहाजको यात्रा, दोस्रो निडल्सको चेयरलिफ्ट राइड र पदयात्रा गरी अलुम बे पिएरको मनोरम दृष्य अवलोकन र तेस्रो ब्रिस्टोनस्थित इस्ले अफ वेट पर्ल बजार अवलोकनसँगै टोली वेम्बली फर्केको हो ।
तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, तमु धिं युकेका पूर्ब अध्यक्ष सुवाससिह गुरुङ, काउन्सिलर कमल गुरुङ, कोषाध्यक्ष खेमबहादुर गुरुङ, आमा समूहका अध्यक्ष उमादेवी गुरुङ, आमा समूहका पूर्व अध्यक्ष माया गरुङ लगायत भ्रमण मण्डलीमा कुल ३९ जना सदस्य, आमा दिदीबहिनी तथा परिवार सहभागी थिए ।
भ्रमणको संयोजन र आयोजनामा समाजका अध्यक्ष, कोषाध्यक्ष, आमा समूहका अध्यक्ष लगायत आमा दिदिबहिनीहरुको मुख्य भूमिका थियो ।