लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको लागि अध्यक्षमा तमू धिं यूकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार उनले शनिबार दिउँसो अनलाईनमार्फत उम्मेदवारी दिएका हुन् ।
सन् २००० सालमा स्थापित तमू धिं यूकेको संस्थापक सचिव, सहकोषाध्यक्ष, कोषाध्यक्ष, ३ कार्यकाल उपाध्यक्षको भूमिका हुँदै सन् २०२१÷२२ मा दसौं कार्यसमितिको सफल अध्यक्ष बनेका उनी विभिन्न संघसंस्थामा आबद्ध छन् ।
गुरुङ पर्वत वेलफेयर सोसाईटी यूकेका संस्थापक अध्यक्ष, अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक प्रमुख संरक्षक हुन् । गैरआवासीय नेपालीहरुको समस्याहरुसँग परिचित गुरुङले यसअघि पर्वतको कुस्मा नगर विकास समितिको अध्यक्षता समेत गरिसकेका छन् ।
त्यस्तै, उनी बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको सल्लाहकारका साथसाथै एनआरएनए यूकेको वर्तमान कार्यसमितिको सदस्य भइसकेका छन् ।
गत १० जुनमा एक कार्यक्रमको आयोजना गरी एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्यलगायत केन्द्रिय पदाधिकारी, एनआरएनए यूकेका पूर्व अध्यक्षलगायत पदाधिकारी तथा सल्लाहकार, इष्टमित्र, साथीभाइ, आफन्तजन, शुभचिन्तक, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेअनुसार अहिले उम्मेदवारी दिएका हुन् ।
चुनावमा ४ हजार १ सय ८३ जना सदस्यले मतदानमा भाग लिन पाउने निर्वाचन समिति संयोजक चिरञ्जीवी ढकालले बताए । मतदान जुलाई २२ मा हुनेछ । मतदाताहरुका लागि अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाइने छ ।