लन्डन । गैरआवासीय नेपाली संघ युकेमा ४ हजार १ सय ४९ जना सदस्यको नामावली स्वीकृत भएको छ ।
२३ जुनसम्म सदस्यता आह्वान गरिएकोमा ४ हजार ४ सय २२ जनाको निवेदन परेको थियो । त्यसमध्ये ४ हजार १ सय ४९ जनाको आवेदन स्वीकृत भएको सदस्यता प्रमाणीकरण समितिका संयोजक तथा प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवी ढकालले जानकारी दिए । नयाँ आवेदन दिएकाहरुमा २ सय ७३ जनाको सदस्यता शुल्कका कारण स्वीकृत हुन बाँकी छ ।
निर्वाचन समितिले आइतबार सदस्यहरुको प्रारम्भिक नामावली प्रकाशन गरेकोमा सोमबार अन्तिम नामावली प्रकाशन हुनेछ ।
सोमबार साँझ ५ बजेभित्र स्वीकृत नभएका तर एप्समा दर्ता भएका सदस्यहरुलाई समय दिइएको छ । सो अवाधिमा पनि आवेदकहरुले कुनै प्रक्रिया अगाडि नबढाए ती आवेदन रद्द हुने पनि ढकालले बताए ।
१ जुलाई ३ बजेसम्म उम्मेदवारी दर्ता, २ जुलाई दिउँसो १ बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशन एनआरएनए युके वेबसाइटमार्फत २ जुलाई साँझ ५ बजेसम्म उम्मेदवारी नामावलीमाथि दावी विरोध एवं ४ जुलाई साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशत हुनेछ ।
निर्वाचन समितिका अनुसार २२ जुलाई बिहानदेखि २२ जुलाई साँझ ६ बजेसम्म स्मार्ट एनआरएन एप मार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ ।
मतदानको भोलिपल्ट २३ जुलाई दिउँसो १ बजे अन्तिम परिणाम घोषणा हुने प्रमुख निर्वाचन आयुक्त ढकालले जानकारी दिए । ढकालको संयोजकत्वमा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम् पत्रकार विपिन निरौला सदस्य छन् ।
यसैबीच, एनआरएनए युकेका अध्यक्ष सुनिलबाबु खड्काले सदस्यता आवदेन दिएकाहरुलाई धन्यवाद दिएका छन् । उनले कठिन अवस्थामा पनि सहयोग गर्ने बेलायतस्थित नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै आफूहरुले एकपटकको नेपाली सधैंको नेपाली भन्ने मूल मन्त्र नबिर्सिएको पनि प्रष्ट पारे ।
यसैगरी, नागरिकता ऐन कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गर्दै एनआरएनए नागरिकताले सम्पत्तिको अधिकारलाई सुरक्षित गरेको र बंशजको नागरिकता पुनः प्राप्तिको लागि र हाम्रा सन्ततिलाई नेपालसँग सदावाहार जोडि राख्नको लागि एनआरएनए अभियानको थप आवश्यकता रहेकोले यो अभियानमा सरिक हुन आग्रह गरेका छन् ।