लन्डन । युवा सफल व्यवसायी हान्सन गौचनले एनआरएनए एनसिसी युके (NRNA NCC UK) को आगामी महिना हुने चुनावको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । वर्ष २०२३–२५ कार्यकालका लागि आगामी २२ जुलाईमा हुने चुनावको चहलपहल सुरु भइसकेको छ ।
आधिकारिकरुपमा नेतृत्वको लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै गौचनले नेपाली समाजको माया र समर्थन प्राप्त गरी अत्यधिक भोट पाएर जित्ने आशा समेत व्यक्त गरे ।
हाल एनआरएनए युकेको कार्यसमिति सदस्य रहेका उनले आफ्नो मुख्य टोली र सल्लाहकारहरुसँग धेरै चरणको बैठकपछि अन्ततः उम्मेदवारी दिने निर्णयमा पुगेको खुलाएका छन् ।
‘म छिट्टै मेरो चुनावी अभियानको मार्गचित्र र पूर्ण घोषणापत्र लिएर आउनेछु । बेलायत र नेपालका दुवै सरकारका उच्चस्तरीय काउन्सिलर, नीति निर्माता, मेयर, सांसद र मन्त्रीहरूसँग प्रत्यक्ष सम्पर्क राख्दै ब्रिटिश नेपाली, ब्रिटिस गोर्खा र नेपाली जनताको हरेक अधिकारका लागि लड्ने वाचा गर्छु,’ उनले भनेका छन्, ‘म सधैँ जनताको आवाज बन्ने छु । ब्रिटिश गोर्खाको अधिकारको कुरा गर्दा जनता र नीति निर्माताहरू अन्योलमा परेकाले ब्रिटिश नेपाली, ब्रिटिश गोर्खा र युनाइटेड किंगडमका नेपाली जनताका फरक–फरक अधिकारहरूलाई स्पष्टरूपमा वर्गीकरण गर्नेछु । दुवै देशका नीतिनिर्माता यसबारे बुझाउने छु ।’
उनले नेपाली समाजको उन्नतिका लागि एनआरएनए युके प्लेटफर्ममा संलग्न हुन प्रेरित भएको पनि बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म साना, मझौला र ठूला व्यापारिक सम्बन्धका साथै बेलायत र नेपालबीच घरजग्गा उद्योगलाई जोडेर नेपालको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्नेछु ।’
एनआरएनए युके अध्यक्ष युनाइटेड किंगडममा नेपाली समाजको एक शक्तिशाली पद हो । यो नेपाल सरकारद्वारा आधिकारिक मान्यता प्राप्त एकमात्र संस्था हो ।
उता, हालैमात्र गैरआवसीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखिको विवाद समाधान भएको छ । दशौं महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनएलाई एकीकृत बनाएर लैजाने विषयमा गत साता काठमाडाैमा चार बुँदे सहमति भएको थियो ।